नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नं १३ खड्कवारबाट प्रहरीले जुवा खेलिरहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति समेत रहेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी चक्र डम्बर पालका अनुसार शुक्रबार राति खड्कवारस्थित टोपबहादुर ओलीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१२ का ३६ वर्षीय धनबहादुर परियार, ३८ वर्षीय चन्द्रबहादुर बस्याल, ५६ वर्षीय बेलबहादुर डाँगी, कोहलपुर नगरपालिका–५ का राम गुरुङ र बैजनाथ गाउँपालिका–४ का ४३ वर्षीय कुलबहादुर ओली रहेको बताएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका कुलबहादुर ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति रहेको बताइएको छ ।
उनीहरूबाट जुवा खेल्न प्रयोग भएको २ लाख २ हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
