मोरिङ्गा फर लभका प्रमुख कार्यकारी अधिकृत (CEO) डा. प्याट्रिक चउले नेपालका बाढी तथा पहिरो प्रभावित समुदायप्रतिको आफ्नो मानवीय प्रतिबद्धता पुन प्रस्तुत गर्दै रसुवा, नुवाकोट र धादिङ पुगेर प्रभावित परिवारलाई राहत तथा सहयोग प्रदान गर्नुभएको छ। उहाँसँगै डा. दिलबहादुर तामाङ पनि राहत अभियानमा सहभागी हुनुभएको छ।
मानवीय टोलीले विपद्बाट प्रभावित परिवारहरूलाई सोलार बत्ती, टेन्ट, चामल तथा अन्य अत्यावश्यक राहत सामग्री वितरण गरेको छ। बाढी तथा पहिरोका कारण घरबार गुमाएका, विस्थापित भएका र कठिन परिस्थितिमा जीवन बिताइरहेका परिवारका लागि यस्ता आधारभूत सामग्रीले तत्कालीन आवश्यकतामा महत्वपूर्ण सहयोग पुर्याएको छ।
डा. प्याट्रिक चाका लागि नेपालमा गरिएको यो पहिलो मानवीय सहयोग भने होइन। यसअघि उहाँले जाजरकोटमा गएको विनाशकारी भूकम्पबाट प्रभावित समुदायलाई समेत सहयोग गर्नुभएको थियो। अर्को ठूलो प्राकृतिक विपद्का समयमा पुनः नेपाल आएर प्रभावित जनताको साथमा उभिनुले नेपालप्रतिको उहाँको सम्बन्ध केवल एकपटकको राहत अभियानमा सीमित नभई निरन्तर मानवीय सहकार्यका रूपमा विकास भएको देखाउँछ।
मोरिङ्गा फर लभमार्फत डा. चाउले विश्वका २६ देशमा मोरिङ्गालाई पोषण, खाद्य सुरक्षा, सामुदायिक विकास तथा वातावरणीय दिगोपनासँग जोडेर काम गर्दै आउनुभएको छ। तर उहाँको मानवीय अभियान मोरिङ्गामा मात्र सीमित छैन। विपद्का समयमा खाद्यान्न, आश्रय, प्रकाश र अन्य आधारभूत आवश्यकताबाट वञ्चित भएका मानिसलाई तत्काल सहयोग गर्नु उहाँको मानवीय दृष्टिकोणको महत्वपूर्ण पक्ष बनेको छ।
रसुवामा पुगेर डा. चाउले प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकन गर्नुका साथै पीडित परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था बुझ्नुभएको छ। राहत सामग्री लिएर स्वयं प्रभावित समुदायमा पुग्नुले विपद्को पीडालाई नजिकबाट महसुस गर्दै सहयोग गर्ने उहाँको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।
जाजरकोट भूकम्पबाट प्रभावित समुदायलाई सहयोग गर्नेदेखि अहिले रसुवा, नुवाकोट र धादिङका बाढी तथा पहिरोपीडितको साथमा उभिनेसम्मको डा. चाउको मानवीय यात्राले नेपालप्रति रहेको अन्तर्राष्ट्रिय ऐक्यबद्धताको एउटा उदाहरण प्रस्तुत गरेको छ। साँचो मित्रता केवल सहानुभूतिको शब्दमा होइन, कठिन समयमा साथ दिने कार्यमा देखिन्छ।
डा. दिलबहादुर तामाङले पनि डा. चाउसँगै वर्तमान राहत अभियानमा सक्रिय सहभागिता जनाउँदै प्रभावित समुदायसम्म सहयोग पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। अन्तर्राष्ट्रिय मानवीय पहल र नेपाली पक्षबीचको यस्तो सहकार्यले विपद्का समयमा साझेदारी र ऐक्यबद्धताको महत्वलाई अझ स्पष्ट बनाएको छ।
विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपाल पुनःस्थापना र पुनर्निर्माणको कठिन चरणमा रहेका बेला डा. प्याट्रिक चाउ र मोरिङ्गा फर लभबाट प्राप्त राहतले प्रभावित परिवारलाई आवश्यक सामग्रीसँगै आशा र मानवीय साथको सन्देश पनि दिएको छ।
