नेपालगन्ज : नेकपा एमाले बाँके क्षेत्र नं. ३ का उम्मेदवार सुमन मल्लले भाषणभन्दा कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले राजनीति भनेको जनतालाई आश्वासन बाँड्ने माध्यम नभई जनताको वास्तविक समस्या समाधान गर्ने जिम्मेवारी हुनुपर्ने बताएका छन् ।
क्षेत्र नं. ३ का विभिन्न स्थानमा आयोजित भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार मल्लले भने, “भाषण गरेर होइन, काम गरेर जनताको विश्वास जित्न सकिन्छ। जनताले नेताबाट ठूला शब्द होइन, ठोस परिणाम चाहेका छन्।”
उनले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न आफू स्पष्ट कार्ययोजना सहित अघि बढ्ने प्रतिबद्धता जनाए। विगतमा भएका अधुरा विकास निर्माणका कामहरूलाई पूरा गर्ने र भ्रष्टाचारमुक्त, पारदर्शी शासन प्रणाली स्थापना गर्ने उनको भनाइ थियो।

स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै मल्लले जनताको गुनासो सुन्ने, समस्या बुझ्ने र समाधानका लागि तत्काल पहल गर्ने आफ्नो कार्यशैली रहेको बताए। “नेतृत्व भनेको जनतासँगै बसेर काम गर्ने हो, मञ्चमा उभिएर भाषण गर्नु मात्र होइन,” उनले भने ।
बाँके क्षेत्र नं ३ का स्थानीय बासिन्दाहरूले पनि सुमन मल्लको व्यवहारिक सोच, जनतासँग भिजेको र काममुखी दृष्टिकोणको प्रशंसा गर्दै यसपटक विकास र परिवर्तनका लागि उनलाई समर्थन गर्ने बताएका छन्। उनले आफू क्षेत्र नं ३ का जनताको सेवक भएको हुदा जिताएर सेवा गर्ने मौका दिनका लागि अनुरोध गरेका छन् ।
