नेपालगन्ज : नेपालगञ्ज उपमहानगरपालिका–७ का शारीरिक अपांगता भएका अटो रिक्सा चालक राजु खान हाल अत्यन्तै कठिन परिस्थितिमा जीवन बिताउन बाध्य भएका छन्। दुवै खुट्टामध्ये एक खुट्टा गुमाइसकेका खान पेटको समस्या भएपछि भेरी अस्पताल नेपालगञ्जमा अप्रेसन गराइएको थियो। तर उपचारमा भेरी अस्पतालले समेत आवश्यक औसधि सहयोग र छुट सुविधा नपाएको उहाँले गुनासो गर्नुभएको छ।
संस्थाका कोषाध्यक्ष अजिज हलुवाईले उहाँको समस्या बताएपछि मानवता नेपाल बाँकेको टोलीले खानको घरमै पुगेर नीजको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै थोरै थोरै रकम आजीवन सदस्यहरु, कार्यसमिति सदस्यहरुबाट उठाएर रु ११ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। आर्थिक रूपमा कमजोर र रोजगारीका सीमित विकल्पका कारण खानलाई दैनिक जीवनयापनमा समेत कठिनाइ भइरहेको छ। स्थानीय समुदाय, निजी क्षेत्र र सरोकारवाला निकायमा उहाँका लागि थप सहयोगको आवश्यकता रहेको मानवता नेपाल बाँकेकि अध्यक्ष सुमन गिरीले बताउनुभयो ।

उपचारपछिको समुचित स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाको अभावले अपांगता भएका नागरिक अझै उपेक्षा सहन बाध्य छन् भन्ने वास्तविकता यस घटनाले झल्काउँछ। उक्त सहयोग हस्तान्तरण कार्यक्रममा मानवता नेपालका अध्यक्ष सुमन गिरी, उपाध्यक्ष केपी घिमिरे, संस्थापक अध्यक्ष अम्बिका काफ्ले, सचिव कमल बहादुर शाही, सहसचिव खुश्वु श्रीवास्तव, सदस्य तारा कुमारी रोकाय, सदस्य छत्र सुनार, आजीवन सदस्य संगम रावत बैरागी लगायतको उपस्थित रहेको थियो ।
नीज खानको दुईवटा छोरीहरुलाई पठनपाठनमा किताब कापी, झोला सहयोग गर्ने समेत मानवता नेपाल बाँकेले बताएको छ ।
