नेपालगन्ज- — वृद्धभत्ता वितरणका क्रममा राष्ट्रिय वाणिज्य बैंक, नेपालगन्ज उपमहानगरपालिका भवनको सटरमा भएको काउन्टर शाखामा आज बिहान भारी भीड देखिएको छ। भत्ता लिन आएका ज्येष्ठ नागरिकहरू बिहानैदेखि लामो समयसम्म लाइनमा बस्न बाध्य भएपछि ठूलो सास्ती खेप्नु परेको छ।
बैंकको गेट अगाडि बाक्लो भीड लागेको दृश्यले भत्ता वितरण व्यवस्थापन निकै कमजोर भएको जनप्रतिनिधि तथा सेवाग्राहीहरूले बताएका छन्। धेरैजसो वृद्ध–वृद्धा हिँडडुल गर्न कठिन भएकाले घाम, भीड र धकाधकका कारण निकै हैरान देखिन्थे। कतिपयलाई लाइन मिलाउन तथा फारम प्रमाणित गराउन पनि समस्या परेको दृश्यले सबैलाई रिस उठाउथ्यो ।

सेवाग्राही राजु सिंहले भने, “वृद्धभत्ता त सरकारले दिएको सुविधा हो, तर लिन आउँदा यति धेरै दुःख भयो कि लिनभन्दा घर फर्किन मन लाग्यो। व्यवस्था मिलाएर चरणबद्ध रूपमा सेवा दिनुपर्छ।”उनले दुखेसो पोखे ।
बैंकका कर्मचारीहरू भने भीड एकैदिन परेको र सम्भव भएसम्म छिटो सेवा दिने प्रयास भइरहेको बताउँछन्। स्थानीय तहले पनि आबद्ध भएर सेवा सुव्यवस्थित बनाउन सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ।
वृद्धभत्ता वितरणको समयमा प्रत्येक महिनाजसो यस्तो समस्या दोहोरिने गरेकोले सेवाग्राही र सरोकारवालाहरूले तत्काल प्रभावकारी व्यवस्थापन, छुट्टै काउन्टर, र डिजिटल सेवाहरू लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने बताएका छन्।
