श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन बनाउँदा भ्रष्टाचार गरेको अभियोगमा रौतहटको ईशनाथ नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अनुसन्धान गर्दा उनीहरुले अनियमितता गरेको पाइएपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार ९ सय कार्य बराबरको रकम खर्च भएको देखिएपनि उनले दुई लाख ३५ हजार ८ सय ९५ रुपैयाँ बढी भुक्तानी गरेको आयोगको अनुसन्धानबाट खुलेको छ।
यस्तै भवन निर्माण मापदण्ड, गुणस्तर र इष्टिमेट विपरित भवन निर्माण गरेको अभियोगमा नगरपालिका तत्कालीन ईन्जिनियर सत्यपाल सौरभले ८६ हजार ६ सय ४७ रुपैयाँ ६३ पैसा बढी भुक्तानी गर्न बिल पेश गरेका थिए ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरले १३ लाख ५३ हजार ५० रुपैयाँ खर्च देखाउनुपर्नेमा तीन लाख तीन हजार ७ सय ९७ रुपैयाँ ३७ पैसा बढी खर्च लेखेका थिए ।
आयोगले प्रतिवादी गुप्ताविरुद्ध सोही ऐनको दफा ८ को उपदफा ९१० बमोजिम दुई लाख ३५ हजार ८ सय ९५ रुपैयाँ बिगो जरिवानाको मागदावी गरेको छ ।
इन्जिनियर सौभरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम कैद सजाय र ८६ हजार ६ सय ४७ रुपैयाँ ६३ पैसा बिगो जरिवानाको मागदावी लिएको छ । अर्का अख्तरको हकमा पनि ऐनको एउटै दफा र उपदफा अनुसार कैद सजाय र तीन लाख तीन हजार ७ सय ९७ रुपैयाँ ३७ पैसा बराबरको बिगो जरिवानाको मागदावी गरेको छ ।
