राजनीतिक दलहरूलाई चन्दा दिने ठूलो कम्पनी मेघा इन्जिनियरिङ

अर्थ / बाणिज्य मुख्य खबर

काठमाडौं । यतिबेला भारतभरि ‘चुनावी बन्ड’ को चर्चा चलिरहेको छ । यसमा सबैको चासो ती कम्पनीतर्फ केन्द्रित छ जसले राजनीतिक दलका लागि सबैभन्दा बढी ऋणपत्र खरिद गरे ।

राजनीतिक दलहरूका लागि सबैभन्दा बढी मूल्यको बन्डहरू खरिद गर्ने कम्पनी फ्युचर गेमिङ एन्ड होटल सर्भिस हो, जसले अक्टोबर २०२० र जनवरी २०२४ को बीचमा १३ अर्ब ६८ करोड रुपैयाँको चुनावी बन्ड खरिद गरेको छ ।

यस्तै, दोस्रो ठूलो कम्पनी हैदरावादको मेघा इन्जिनियरिङले पनि पाँच वर्ष अवधिमा कुल ९ अर्ब ६६ करोड रुपैयाँको ऋणपत्र किनेको छ ।

कम्पनीको पूरा नाम मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड (एमइआईएल) हो । यो एउटा सानो ठेकेदार कम्पनीको रूपमा सुरु भएको थियो, जुन अहिले देशको सबैभन्दा ठूलो पूर्वाधार कम्पनीका रूपमा उभिएको छ ।

यो कम्पनीले मुख्यतया सरकारी परियोजनाहरूमा काम गर्छ । यस कम्पनीले तेलंगानाको कलेश्वरम उपसा सिँचाइ परियोजनाको मुख्य भाग निर्माण गरेको छ ।

मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चरले महाराष्ट्रको ठाणे(बोरिवली डबल टनेल परियोजनाको काम व्यवस्थापन गर्दैछ । यो १ खर्ब ४० अर्ब रुपैयाँको परियोजना हो ।

कम्पनीले सिँचाइ, यातायात, विद्युतजस्ता धेरै क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरेको छ । हाल कम्पनीले करिब १५ राज्यमा आफ्नो व्यापार गरिरहेको छ ।

कम्पनीले ओलेक्ट्रा इलेक्ट्रिक बस पनि निर्माण गरिरहेको छ ।

रेटिङ फर्म बरगन्डी प्राइभेट र हुरुन इन्डियाका अनुसार मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर भारतका शीर्ष १० गैरसूचीबद्ध कम्पनीहरूमा तेस्रो स्थानमा छ ।

मेघा कम्पनीले चुनावी ऋणपत्रमा कुन दललाई कति रकम दिएको हो भन्ने जानकारी भने खुल्न सकेको छैन । बीबीसी हिन्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *