संसार बदल्ने मानिसहरू सधैँ भीडको बीचबाट जन्मिएका हुँदैनन्। धेरैपटक उनीहरू भीडभन्दा अलग उभिएका हुन्छन्। अरूले नदेखेको सपना देख्छन्। अरूले असम्भव भनेको कुरामा सम्भावना खोज्छन्। अरूहरू डराइरहेका बेला उनीहरू अघि बढ्छन्। अरूले आलोचना गरिरहेका बेला उनीहरू काम गरिरहेका हुन्छन्।
इतिहासमा नाम लेखाउनेहरू सबैले सुरुवातमा ठूलो समूह पाएका थिएनन्। धेरैले एक्लै यात्रा सुरु गरेका थिए।
महात्मा गान्धीले अहिंसाको बाटो रोज्दा त्यो बाटो सजिलो थिएन। अन्यायका विरुद्ध उभिँदा उनीसँग ठूलो शक्ति थिएन तर उनको विचारमा शक्ति थियो। उनको हातमा हतियार थिएन तर सत्य र अहिंसाको साहस थियो।

नेल्सन मण्डेलाले अन्यायविरुद्ध जीवन समर्पण गरे। लामो समय जेलमा बिताए तर उनको सपना मरेन। शरीर बन्दी भयो विचार बन्दी भएन। मार्टिन लुथर किङ जुनियरले समानताको सपना देखे। उनले एउटा यस्तो समाजको कल्पना गरे जहाँ मानिसको मूल्य उसको छालाको रंगले होइन उसको चरित्रले निर्धारण गरोस्। त्यो सपना तत्काल पूरा भएन तर उनले देखेको सपना आज पनि संसारभर गुञ्जिरहेको छ।
अब्राहम लिंकनले विभाजित अमेरिकालाई एकताको बाटोमा लैजाने कठिन जिम्मेवारी उठाए। संकटका बीच नेतृत्व गर्नु सजिलो थिएन। तर इतिहासले नेतृत्वलाई सजिलो समयमा होइन कठिन समयमा परीक्षा गर्छ। अल्बर्ट आइन्स्टाइनले संसारलाई हेर्ने हाम्रो दृष्टिकोण नै बदलिदिए। उनले स्थापित धारणालाई प्रश्न गरे। नयाँ सोच जन्माए।
निकोल टेस्लाले विद्युत् प्रविधिको संसारमा क्रान्तिकारी सोच प्रस्तुत गरे। उनका विचार तत्काल सबैले स्वीकार गरेनन्। तर समयले उनको योगदानको मूल्य बुझ्यो।थोमस एडिसनले असफलताका बीच प्रयोग गर्न छोडेनन्। असफलता उनको यात्राको अन्त्य बनेन अर्को प्रयासको सुरुवात बन्यो।
स्टीभ जब्सले प्रविधिलाई कल्पनासँग जोडेर नयाँ संसार निर्माण गरे। उनले मानिसलाई केवल प्रविधि प्रयोग गर्ने होइन प्रविधिसँग नयाँ सम्बन्ध बनाउने बाटो देखाए। इलन मस्कले असम्भवजस्ता लाग्ने सपनालाई चुनौती दिए। अन्तरिक्ष विद्युतीय सवारी ऊर्जा र प्रविधिका क्षेत्रमा उनले जोखिम लिए। उनका सबै निर्णय वा विचारसँग सहमत हुनैपर्छ भन्ने छैन तर ठूलो सपना देखेर त्यसलाई प्रयोगमा उतार्ने साहस भने अध्ययन गर्न सकिन्छ।
लियोनार्दो दा भिन्चीले कला, विज्ञान, शरीरशास्त्र, इन्जिनियरिङ र कल्पनाको सीमाना तोडे। उनको जिज्ञासाले उनलाई एउटा क्षेत्रमा मात्र सीमित हुन दिएन। मदर टेरेसाले सेवाको माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाइन्। उनले ठूलो भाषणभन्दा सेवा रोजिन्। अरूले नदेखेको ठाउँमा पुगेर मानिसको पीडा देखिन्। यी सबै व्यक्तित्वका यात्रामा एउटा साझा कुरा भेटिन्छ ठूलो काम गर्न सधैँ ठूलो भीड आवश्यक पर्दैन। कहिलेकाहीँ एउटा मानिसको दृढ इच्छाशक्ति
एउटा स्पष्ट सपना अनि त्यसलाई पूरा गर्ने निरन्तर प्रयास नै परिवर्तनको सुरुवात बन्न सक्छ।भीडले समर्थन गर्न सक्छ समूहले छलफल गर्न सक्छ धेरै मानिसले सुझाव दिन सक्छन् तर अन्तिम निर्णय गर्ने साहस कसैले नदेखाएसम्म परिवर्तन अगाडि बढ्दैन। त्यसैले नेतृत्वको अर्थ
सबैलाई खुसी पार्नु मात्र होइन आवश्यक पर्दा सही निर्णयका लागि एक्लै उभिने क्षमता पनि हो। इतिहासले भीडको संख्या सम्झिँदैन इतिहासले सम्झिन्छ कसले कठिन समयमा के निर्णय गर्यो कसले
जोखिम लिन सक्यो र
कसले आफ्नो समयको सीमाभन्दा अगाडि सोच्न सक्यो।
प्रम बालेन तपाईं अहिले त्यही ठाउँमा हुनुहुन्छ
जहाँबाट नेपालमा केही
नयाँ सुरु गर्न सकिन्छ। तपाईंले अहिलेसम्म
देखाउनुभएको शैलीमा फरक सोच नयाँ प्रयोग र परम्परागत राजनीतिक संस्कारभन्दा बाहिर गएर काम गर्ने प्रयास देखिन्छ। त्यसैले अब तपाईंले
अरूले के गरे भनेर मात्र हेर्नुभन्दा एउटा प्रश्न आफैँलाई सोध्नुपर्छ नेपालमा अहिलेसम्म कसैले गर्न
नसकेको के म गर्न सक्छु? यही प्रश्नले तपाईंको नेतृत्वको दिशा निर्धारण गरोस्। नेपालमा सरकारहरू
आए सरकारहरू गए
प्रधानमन्त्रीहरू आए मन्त्रीहरू आए नीति बने
योजना बने भाषण भए आश्वासन बाँडिए; तर
जनताको जीवनमा देखिने परिवर्तन अपेक्षाअनुसार हुन सकेन। अब फेरि उही पुरानो
शैली दोहोर्याएर नयाँ
परिणाम खोज्नु हुँदैन। देशलाई भाषणभन्दा
परिणाम चाहिएको छ आश्वासनभन्दा काम चाहिएको छ नाराभन्दा नीति चाहिएको छ र पुरानो बाटोभन्दा
नयाँ सोच चाहिएको छ। यदि कुनै कामका लागि सय जना आवश्यक छन् भने सय जना जुटाउनुहोस् यदि दस जना चाहिन्छन् भने दस जना साथमा लिनुहोस् तर एउटा काम गर्न एक जना नै पर्याप्त छ भने त्यसका लागि धेरै मानिसको अनुमति कुरेर समय खेर नफाल्नुहोस्। निर्णय गर्न सकिने ठाउँमा पुगेपछि निर्णय
गर्नुपर्छ। सबैलाई खुसी पार्ने
प्रयासमा धेरैपटक देशले वर्षौँ गुमाएको छ। राम्रो कामको विरोध हुन्छ आलोचना हुन्छ प्रश्न उठ्छन् तर त्यसैका कारण काम रोक्नु हुँदैन। गल्ती भयो भने सच्याउनुहोस् गलत निर्णय भयो भने स्वीकार गरेर सुधार्नुहोस् तर नयाँ काम गर्ने साहस नहराउनुहोस्। किनकि नेतृत्व भनेको सधैँ लोकप्रिय निर्णय गर्नु होइन देशको दीर्घकालीन हितका लागि आवश्यक निर्णय गर्ने क्षमता पनि हो। तपाईंले आफ्नो कार्यकाललाई केवल सरकार चलाएको समयका रूपमा होइन नेपालमा केही नयाँ सुरुवात भएको समयका रूपमा स्थापित गर्ने अवसर पाउनुभएको छ।
सरकारको शक्ति केवल मन्त्रालय कर्मचारी बजेट र प्रशासनमा हुँदैन सरकारको वास्तविक शक्ति निर्णय गर्ने इच्छाशक्ति त्यसलाई परिणाममा बदल्ने क्षमतामा हुन्छ। नेपालमा धेरै कुरा गर्न सकिन्छ तर हामीले धेरैपटक कसरी हुन्छ? भन्ने प्रश्न पहिले सोध्छौँ र किन हुँदैन? भन्ने प्रश्न सोध्न बिर्सन्छौँ। अब सोच बदल्नुपर्छ। कृषिलाई आधुनिक र उत्पादनमुखी बनाउन सकिन्छ युवालाई विदेश जानैपर्ने बाध्यताबाट केही हदसम्म मुक्त गर्ने रोजगारीका अवसर देशभित्र सिर्जना गर्न सकिन्छ शिक्षा प्रणालीलाई परिणाममुखी बनाउन सकिन्छ सरकारी कार्यालयमा सेवा लिन नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्थालाई प्रविधिमार्फत घटाउन सकिन्छ भ्रष्टाचारका अवसरहरू प्रणालीबाटै कम गर्न सकिन्छ सार्वजनिक खर्चलाई पारदर्शी बनाउन सकिन्छ वन र वातावरणलाई विकासको बाधक होइन समृद्धिको आधार बनाउन सकिन्छ। एउटा सफल नमुना तयार पार्नुहोस् र त्यसलाई देशभर विस्तार गर्नुहोस्। नेपाललाई एकैपटक सबै क्षेत्रमा परिवर्तन गर्न नसकिएला तर एउटा क्षेत्रमा संसारले हेर्ने नमुना बनाउन सकिन्छ। त्यसपछि अर्को क्षेत्र सुरु गर्न सकिन्छ। देश बदल्ने काम सधैँ एकैचोटि हुँदैन एउटा सही निर्णयले अर्को सही निर्णयको बाटो खोल्छ। त्यसैले अहिले तपाईंको अगाडि अवसर छ पुरानो राजनीतिक भाषणको शैलीबाट बाहिर निस्केर परिणाम देखाउने नेतृत्व स्थापित गर्ने। तपाईंले गरेको एउटा राम्रो निर्णयले एउटा पुस्तालाई प्रभाव पार्न सक्छ। एउटा विद्यालय सुधार्दा हजारौँ विद्यार्थीको भविष्य बदलिन सक्छ। एउटा अस्पतालको प्रणाली सुधार्दा हजारौँ मानिसको जीवन सहज हुन सक्छ। एउटा उद्योगलाई प्रोत्साहन गर्दा सयौँ परिवारको आय बढ्न सक्छ। एउटा नदी जोगाउँदा पुस्तौँसम्म पानी सुरक्षित हुन सक्छ। एउटा वन जोगाउँदा
प्रकृति वन्यजन्तु र मानव जीवन सबै सुरक्षित हुन सक्छन्। त्यसैले सानो देखिने कामलाई पनि सानो नठान्नुहोस्। परिवर्तन धेरैपटक सानो निर्णयबाट सुरु हुन्छ।
बालेन एउटा कुरा पनि सम्झनुहोस् एक्लै उभिनु भनेको सबैलाई अस्वीकार गर्नु होइन।योग्य मानिसको साथ लिनुहोस् विज्ञको सुझाव सुन्नुहोस् फरक विचारलाई सम्मान गर्नुहोस् आलोचकको कुरा पनि सुन्नुहोस् तर अन्तिम निर्णय आफ्नो विवेक र देशको हितलाई केन्द्रमा राखेर गर्नुहोस्। वरिपरि मानिस धेरै हुनु र सही मानिस हुनु फरक कुरा हो। सरकारलाई ठूलो भीडभन्दा इमानदार दक्ष र काम गर्न सक्ने मानिस आवश्यक हुन्छन्। तपाईंको वरिपरि त्यस्ता मानिसहरू हुनुपर्छ जसले तपाईंलाई गलत हुँदा गलत भन्न सकून् सही निर्णयमा साथ दिन सकून् र व्यक्तिगत स्वार्थभन्दा राष्ट्रको स्वार्थलाई अगाडि राख्न सकून्। त्यसैगरी जनताले पनि तपाईंलाई केवल नारा र व्यक्तित्वका आधारमा होइन परिणामका आधारमा मूल्याङ्कन गर्नेछन्। त्यसैले समय छोटो छ भने काम छिटो देखिनुपर्छ। इतिहासमा पदमा बसेका मानिस धेरै छन् तर इतिहासमा सुनौलो अक्षरले लेखिएका मानिस थोरै छन्। कुर्सी अस्थायी हुन्छ पद अस्थायी हुन्छ सत्ता अस्थायी हुन्छ तर राम्रो कामको प्रभाव लामो समयसम्म रहन्छ। तपाईंले यस्तो काम गर्न सक्नुभयो भने तपाईंलाई समर्थन गर्ने मानिसले मात्र होइन आज विरोध गर्ने मानिसले पनि भोलि तपाईंको काम स्वीकार गर्न बाध्य हुनेछन्। त्यसैले प्रशंसा खोज्नु पर्दैन परिणाम खोज्नुहोस्। ताली खोज्नु पर्दैन परिवर्तन खोज्नुहोस्। सामाजिक सञ्जालको चर्चा खोज्नु पर्दैन जनताको जीवनमा परिवर्तन खोज्नुहोस्। नेपाललाई एउटा यस्तो उदाहरण दिनुहोस् जसलाई संसारले हेरेर भन्न सकोस् नेपालमा पनि नयाँ ढंगले शासन गर्न सकिन्छ। देश बदल्ने सपना देख्ने मानिस धेरै छन् तर आफ्नो सपना पूरा गर्न जोखिम उठाउने मानिस थोरै छन्। तपाईं अहिले त्यही परीक्षाको ठाउँमा हुनुहुन्छ।
म पनि आफ्नो ठाउँबाट यही विश्वास बोकेर हिँडिरहेको छु। मेरो हरित क्रान्तिको यात्रा पनि एक्लै छ। रुख रोप्ने कुरा गर्दा धेरैलाई त्यो सामान्य कुरा लाग्यो कतिपयले एउटा मानिसले कति नै गर्न सक्छ र भने तर मैले भीड कुरिनँ। एउटा बिरुवा पाएँ रोपें। अर्को पाएँ फेरि रोपें। मानिस भेटेँ बिरुवाको कुरा गरेँ। विद्यालय पुगेँ हरियालीको कुरा गरेँ। समुदाय पुगेँ वनको कुरा गरेँ। आज पनि निरन्तर छु अविरल छु। मेरो विश्वास छ एउटा मानिसले संसारका सबै जंगल बनाउन सक्दैन तर एउटा मानिसले एउटा बिरुवा रोप्न सक्छ एउटा मानिसले एउटा बिरुवा रोप्यो भने अर्को मानिसलाई पनि प्रेरणा दिन सक्छ एउटा विचारले अर्को विचार जन्माउन सक्छ र एउटा सानो अभियान एक दिन ठूलो आन्दोलन बन्न सक्छ। त्यसैले म पनि आफ्नो बाटोमा रोकिएको छैन। मेरो लक्ष्य पद होइन हरियाली हो। मेरो सपना व्यक्तिगत प्रसिद्धि होइन आउने पुस्ताका लागि हरियो नेपाल हो। यही ठाउँबाट म तपाईंलाई पनि एउटा आग्रह गर्न चाहन्छु अरूले के गरे भनेर धेरै नहेर्नुहोस् तपाईंले के नयाँ गर्न सक्नुहुन्छ भनेर सोच्नुहोस्। नेपाललाई केही नौलो गरेर देखाउनुहोस्। पुरानो राजनीतिक शैलीभन्दा माथि उठेर परिणाममुखी नेतृत्व देखाउनुहोस्।
आवश्यक पर्दा सही कामका लागि एक्लै उभिनुहोस्, तर सही मानिसको साथ लिन कहिल्यै नहिच्किचाउनुहोस्। तपाईंको समय तपाईंको पद तपाईंको अवसर सधैँ रहँदैन। त्यसैले अहिले नै केही यस्तो काम सुरु गर्नुहोस् जसलाई भोलि फर्केर हेर्दा नेपाली जनताले भन्न सकून् त्यो समयमा एउटा नयाँ सुरुवात भएको थियो। इतिहासले कसैलाई उसको पदका कारण मात्र सम्झिँदैन उसले देशका लागि के गर्यो भन्ने कारणले सम्झिन्छ। त्यसैले बालेन भ केही नौलो गरेर देखाउनुहोस्। नेपाललाई संसारले हेर्ने बनाउनुहोस्। देशलाई भाषण होइन परिणाम दिनुहोस् आश्वासन होइन काम दिनुहोस् पुरानो बाटो होइन नयाँ सोच दिनुहोस्। र यदि सही काम गर्न कहिलेकाहीँ एक्लै उभिनुपर्छ भने नडराउनुहोस्। किनकि एक्लै सुरु भएको काम नै भोलि हजारौँ मानिसको यात्रा बन्न सक्छ। मेरो हरित यात्राजस्तै म एक्लै छु तर रोकिएको छैन निरन्तर छु अविरल छु। जसरी जनताले भरोसा गरे अत्याधिक बहुमतको सरकार बनाए तपाईलाई देशको सर्बोच्च ठाउँमा पुगाए यो ठूलो अकल्पनीय एक अवसर हो यसलाई निकै संबेदनसिल भएर अघि बढ्नुहोस तपाईं पनि आफ्नो ठाउँबाट एउटा यस्तो काम सुरु गर्नुहोस् जसले नेपाललाई नयाँ दिशा दिन सकोस्। देश बदल्ने सपना देख्नेहरू धेरै हुन्छन् तर सपना साकार पार्नेहरू थोरै हुन्छन्। अब पालो तपाईंको पालो।
लेखक: सामाजिक अभियन्ता हुनुहुन्छ ।
