मिनबहादुर गुरुङ जो भाटभटेनी सुपरमार्केटका संस्थापक हुनुहुन्छ उहाँ सानो खोटाङ जिल्लाको दुबे गाउँमा साधारण परिवारमा जन्मिनु भएको थियो ।उहाँले सानै उमेरदेखि नै संघर्ष र परिश्रमको महत्व बुझेर जीवन अगाडि बढाउनु भयो । २०४३ सालदेखि नै उहाँ आफ्नो सानो व्यावसायिक यात्रा मेहनत र लगनशीलताका कारण निरन्तर प्रगति गर्दै जानू भयो । कठिन परिस्थितिहरू आर्थिक अभाव , राजनीतिक अस्थिरता र सामाजिक चुनौतीहरूलाई पन्छाउँदै उहाँले आफ्नै बलमा एक ठूलो व्यापारिक साम्राज्य खडा गर्न सफल हुनु भयो । पढेलेखेको र परिश्रमी मान्छे भएका मिनबहादुरले देश छोडेर परदेश जाने विकल्प सहजै रोज्न सक्नु हुन्थ्यो तर उहाँले आफ्नो देशमा केही योगदान गर्ने प्रण गर्नु भयो ।
उहाँले राजनीति रोजेको भए सजिलै मन्त्री बन्न सक्नु हुन्थ्यो तर त्यसको सट्टा उहाँले रोजगारी सिर्जना गर्ने र समाजलाई आत्मनिर्भर बनाउने मार्ग रोज्नु भयो यही कारणले गर्दा उहाँ केवल एक व्यवसायी मात्र नभई सामाजिक योगदान गर्ने व्यक्तित्वको रूपमा पनि चिनिनुहुन्छ । मिनबहादुर गुरुङ भाटभटेनी सुपरमार्केटका संस्थापक, केवल सफल व्यवसायी मात्र हुनुहुन्न उहाँ देशका युवाहरू र समाजका लागि प्रेरणाको स्रोत पनि हुनुहुन्छ । उहाँ युवाहरूलाई रोजगारी दिनु मात्र होइन, उनीहरूको शिक्षा र भविष्यप्रति पनि ध्यान दिनु हुन्छ। उहाँले आफ्ना सुपरमार्केटहरुमा ब्याचलर पढी रहेका निम्न बर्गका विद्यार्थीहरूलाई घण्टाको हिसाबले कामको व्यवस्था गर्नु भएको छ ।

हप्तामा दुई दिन विदा र सन्ध्या कालिन कामको व्यवस्थापनले विद्यार्थीहरूले आफ्नो पढाई निरन्तरता दिन पाएका छ्न । यसरी विद्यार्थीहरूले काम गरेर कमाइ पनि गर्छन् र आफ्नो पढाई पनि रोकिँदैन जसले उनीहरूको आत्मनिर्भरता समय व्यवस्थापनको क्षमता बढाउँछ। मिनबहादुर गुरुङको यो दृष्टिकोणले सयौं युवाहरूलाई लाभ पुराउनु भएको छ जसले काम र पढाई दुवै गर्दै आफ्नो भविष्य सुरक्षित बनाइरहेका छन्। केवल व्यवसायबाट लाभ उठाउनुको सट्टा उहाँले आफ्नो सफलता युवाहरूको भविष्यमा लगानी गर्नु भएको छ समाजमा सकारात्मक प्रभाव पार्नु भएको छ ।यसरी विद्यार्थीहरूले रोजगार प्राप्त गर्दै शिक्षामा ध्यान दिन सक्नु, उनीहरूको व्यक्तिगत विकास र आत्मनिर्भर बन्ने क्षमतामा योगदान पुर्याउँछ भने, देशको आर्थिक र सामाजिक विकासमा समेत प्रभाव पार्दछ। युवाहरूले काम र पढाई दुवै गर्ने वातावरण पाउँदा उनीहरूमा जिम्मेवारी, परिश्रम र नेतृत्व कौशल विकसित हुन्छ मिनबहादुर गुरुङको यस नीति र समाजप्रतिको प्रतिबद्धताले स्पष्ट देखाउँछ कि उहाँ केवल व्यापारमा सफल उद्यमी मात्र हुनुहुन्न युवाहरूको जीवन र राष्ट्रको विकासमा योगदान दिने प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ ।
उहाँको योगदानहरू, चाहे त्यो रोजगारी सिर्जना गर्नु होस्, शिक्षा र प्रशिक्षणमा सहयोग गर्नु होस् वा सामाजिक उत्तरदायित्व पूरा गर्नु होस्, सबै देश र युवाहरूको हितमा केन्द्रित छन्। आज हजारौंले रोजगार पाएका छ्न ।
मिनबहादुर गुरुङको यात्रा पूर्णत संघर्ष र समर्पणले भरिएको छ उहाँ आफ्नै प्रयास र लगनशीलतामा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ । प्रारम्भमा उहाँले खाइ नखाई, सानो व्यवसायबाट आफ्नो यात्रा सुरु गर्नु भ्स्यो भिमकाय कठिनाइ, महामारी, लकडाउन र आर्थिक संकटका बेला पनि उहाँ निरन्तर कर्मशील रहँदै अघि बढ्नु भो। उहाँले हजारौं नेपालीलाई रोजगारको अवसर उपलब्ध गराउनु भो । जसले समाजमा आत्मनिर्भर बन्ने चेतना फैलायो। उहाँले व्यापारको माध्यमबाट समाजमा योगदान पुराउनु भएको छ तर यसका साथै उहाँले आफ्नो कर्ममार्फतै मानवीय मूल्य र जिम्मेवारीको उदाहरण पनि प्रस्तुत गर्नु भएको छ। महामारी र प्राकृतिक विपत्तिका बेला उहाँले जनताको सहयोगमा मात्र नभई सरकारले बनाएको राहत कोषमा पनि उत्कृष्ट योगदान गर्नु भएको थियो ।
व्यापारमा सफलता हासिल गरे पनि मिनबहादुर गुरुङ केवल आर्थिक लाभका लागि काम गर्ने व्यक्ति हुनुहुन्न । उहाँले समाजसेवा र शिक्षामा पनि आफ्नो योगदान गर्नु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायतका संस्थामा भवन निर्माणमा सहयोग पुर्याए। जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्तिमा पढाइरहनु भएको छ। विपत्ति र प्राकृतिक प्रकोपको समयमा उहाँले आफूले सम्भव सबै सहयोग गरि रहनु भयो । उहाँले व्यवसायबाट कर तिरेर राष्ट्रलाई योगदान पुराउनु भएको छ। जसले उहाँलाई उत्कृष्ट करदाता बनाएर परिचीत गरेको छ यसबाट स्पष्ट हुन्छ कि उहाँ केवल धनी बन्न मात्र होइन समाज र राष्ट्रको हितमा काम गर्न विश्वास राख्ने व्यक्ति हुनुहुन्छ ।
यति योगदान र समाजसेवाको बाबजुद पनि मिनबहादुर गुरुङमाथि अन्याय भयो। उनका ४० वर्षको अथक श्रमले बनाएको साम्राज्य केवल केही सेकेन्डमा लुटियो र जलाइयो। कतिपय आलोचकहरूले उनलाई केवल व्यापारी भनेर आरोप लगाए तर वास्तविकता भने फरक थियो। उहाँ आफ्नो देश जनता र ग्राहकको हितमा अनवरत लागि रहनु भएको छ । उहाँ कुनै पनि सामाजिक, आर्थिक वा राजनीतिक अस्थिरताले प्रभावित हुनु भएन । यसरी एउटा साधारण जनजाती परिवारका छोरोले आफ्नो कर्म, परिश्रम र इमानदारीले निर्माण गरेको साम्राज्यलाई क्षणिक क्षति पुर्याएर समाप्त गर्न खोजियो। यस्तो अन्यायले केवल व्यक्तिको मात्र होइन, सम्पूर्ण समाज र न्याय प्रणालीप्रति प्रश्न उठाउँछ।
मिनबहादुर गुरुङको जीवन र योगदान हामी सबैका लागि प्रेरणादायक उदाहरण हो । उहाँ साधारण परिवारका छोरा भए पनि आफ्नो कर्म, ईमानदारी र परिश्रमले समाज र राष्ट्रमा अतुलनीय योगदान गर्न सफल हुनु भएको छ। उहाँले रोजगार सिर्जना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने, विपत्तिमा सहयोग पुर्याउने र देशलाई करमार्फत योगदान गर्ने कार्य गरेर वास्तविक राष्ट्रभक्तिको उदाहरण प्रस्तुत गर्नु भएको छ । आज उहाँको योगदान र समाजसेवालाई नकार्ने वा क्षति पुर्याउने प्रयास भए तापनि उहाँ हामी सबैका लागि प्रेरणाको स्रोत बन्नु भएको छ । मिनबहादुर गुरुङको कथा केवल व्यवसायी मात्र नभएर सबैको प्रेरणा, राष्ट्रका लागि नभइ नहुने व्यक्तित्वका रुपमा लिन सकिन्छ ।
लेखक हेमन्तराज काफ्ले सामाजिक अभियन्ता हुनुहुन्छ ।
