नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा. वि. मा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूले बाँके जिल्ला अदालतको शैक्षिक भ्रमण गरेका छन्। मंगलबार विद्यार्थीहरुले कानुनको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक तथा न्यायिक प्रक्रियासँग जोड्ने उद्देश्यले अदालतको भ्रमण गरेका हुन्।
उक्त भ्रमणका क्रममा विद्यार्थीहरूले अदालतको कार्यसम्पादन, मुद्दा दर्ता तथा सुनुवाइ प्रक्रिया, इजलास सञ्चालन, बहस , फैसला कार्यान्वयनलगायत न्यायिक प्रक्रियाका विभिन्न पक्षबारे जानकारी लिएका थिए। अदालतका सम्बन्धित अधिकारी तथा कानुन व्यवसायीहरूले विद्यार्थीहरूलाई अदालतको काम, कर्तव्य र न्याय सम्पादन प्रक्रियाबारे जानकारी गराएका थिए।

विद्यार्थीहरूले अदालतको प्रत्यक्ष अवलोकनबाट कानुनी शिक्षा थप व्यवहारिक र प्रभावकारी भएको बताएका छन्। यस्तो शैक्षिक भ्रमणले भविष्यमा कानुन व्यवसाय तथा न्याय क्षेत्रमा प्रवेश गर्ने विद्यार्थीहरूलाई आवश्यक व्यवहारिक ज्ञान र अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
