नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ वि.पी.चोकमा अबस्थित गुरुद्वारामा वृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जस अन्तर्गत निशुल्क रगत जाँच, औसधि वितरण, रक्तदान कार्यक्रम तथा लङ्गर कार्यक्रम गरिएको छ ।
लाइफ लाइन हस्पिटलका प्रवन्ध निर्देशक तथा वृहत् स्वास्थ्य शिविरका संयोजक डा. प्रतीक श्रेष्ठका अनुसार उक्त कार्यक्रम हस्पिटलको आयोजनामा अन्य परिवर्तन समूह, नेपाल चिकित्सक संघ भेरी बाँके, रक्तसञ्चार केन्द्र बाँके, हरपल होलिस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर बाँके, गणपति डेण्टल क्लिनिक बाँके र गुरुद्वारा समिति लगायतका संघसंस्थाको सहकार्यमा गरिएको बताउनुभयो ।

कुनै पनि गरिब दिन दु:खी उपचार नपाएर अकालमा मृत्युवरण गर्न नपरोस् र अस्पतालमा भर्ना भएका बिरामीहरुलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यले नेपालगन्जमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । उक्त स्वास्थ्य शिविरमा फिजिसियन डाक्टर, नाक कान घाटीका डाक्टर, अर्थोपेडिक्स, छाला तथा चर्म रोग डाक्टर, मुत्ररोग डाक्टर, मृगौला रोग डाक्टर, सबैले चेकजाँच गर्नु भएको थियो ।
कुनैपनि औपचारिक कार्यक्रम नगरीकन सुरु गरिएको कार्यक्रम वास्तविक प्रशंसा गर्न लायक भएको सेवा लिन उपस्थित भएका हरुले बताउनुभएको थियो । सबै कार्यक्रममा भाषण र अतिथि आसन ग्रहण हुन्थ्यो यहाँ त्यो देख्न पाइएन अत्यन्तै खुसी छौं सेवाग्राही कपिल घिमिरेले बताउनुभयो । नयाँ तरिकाले सेवामूलक काम गरेको हुदा खुसी लागेको उहाँले बताउनुभयो ।
उक्त स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिएको, ३७ जनाले रक्तदान गर्नुभएको जसमा पुरुष २६ जना र महिला ११ जनाले रक्तदान गर्नुभएको थियो । स्वास्थ्य शिविर सकिएपछि गुरुद्वारामा लङ्गरको व्यवस्था पनि गुरुद्वारा समितिद्वारा गरिएको संयोजक श्रेष्ठले बताउनुभयो ।

