कोहलपुर : उपचारबाट पूर्ण रूपमा निको भएपछि एकजना बिरामीले आफ्नो उपचारमा महत्वपूर्ण भूमिका खेलेका चिकित्सकप्रति अनौठो तर भावनात्मक तरिकाले आभार व्यक्त गरेका छन्। बिरामीले चिकित्सकको फोटो टिसर्टमा छापेर सार्वजनिक रूपमा लगाएर खुसी साट्न कोहलपुर मेडिकल कलेजमा कार्यरत न्युरो सर्जन डा. सुवोध गौतमलाई भेट्न आज आएका हुन्।
दाङ घर भएका बिरामी कमल केसीको दुर्घटनामा परी घाइते भएपछि डा. सुवोध गौतमको टिमले तीन हप्ता अगाडि जटिल अप्रेसन गर्नु भएको थियो । स्वास्थ्य उपचारमा कुनै कसुर नराखी आफ्नो उपचार गर्नु भएको भन्दै बिरामी खुसीले टिसर्टमा डा. गौतमको फोटो छपाई गरेर लगाएका हुन् । सम्बन्धित चिकित्सकको उपचारपछि स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताएका छन्। “डाक्टरले मलाई नयाँ जीवन दिनुभयो त्यसैले उहाँप्रति कृतज्ञता व्यक्त गर्न यस्तो उपाय अपनाएँ,” बिरामीले बताए छन् ।

चिकित्सकप्रति सम्मान र विश्वास झल्काउने यो कार्य अहिले सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ। धेरैले यसलाई बिरामी र चिकित्सकबीचको विश्वास र सम्बन्धको उत्कृष्ट उदाहरणका रूपमा लिएका छन्।
स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरूका अनुसार यस्तो घटना बिरामीको सन्तुष्टि र चिकित्सकको सेवाप्रतिको प्रतिबद्धताको प्रतिफल भएको प्रतिक्रिया दिएका छन्। साथै, यसले स्वास्थ्य सेवामा मानवीय सम्बन्धको महत्वलाई अझ उजागर गरेको उनीहरूको भनाइ छ।
यस घटनाले उपचार सफल भएपछि चिकित्सकप्रति कृतज्ञता व्यक्त गर्ने नयाँ शैली प्रस्तुत गरेको छ, जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ। डा. गौतमले बिरामीले चिकित्सकप्रति गरेको व्यवहारले भावुक बनेको बताउनुभयो ।
