नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १६ र १७ मा राजनीतिक भेटघाटभन्दा फरक देखिन्थ्यो। यहाँ भाषणभन्दा बढी सुन्ने मन थियो, नाराभन्दा बढी पीडाका कथा थिए। आइतबार यही माहोलबीच बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्यलाल यादव जयसपुर पुग्नुभयो—जनताको कुरा सुन्न, उनीहरूको मन बुझ्नलाई स्थानीय जनताहरु भने चिसोको प्रबाह नगरी उम्मेदवार यादवको कुरा सुन्न उपस्थित भएका थिए । यसपालि हामीले भोट छाता चिन्हमै दिन्छौं स्थानीय बासिन्दाले यादवलाई भने ।
टोल–टोलमा पुगेर उहाँले मतदातासँग हात मात्रै मिलाउनुभएन, उनीहरूको पीडा, अपेक्षा र सपना सुन्नुभयो। कसैले बिग्रिएको बाटोको कुरा गरे, कसैले खानेपानीको समस्या सुनाए, त कसैले बेरोजगार छोराको भविष्यको चिन्ता पोखे। वृद्ध आमाबुबाले “हामीले धेरै नेता देख्यौं, तर सुन्ने कमै भेट्यौं” भन्दै आफ्ना भोगाइ सुनाउँदा वातावरण झन् भावुक बन्यो।

जनताको सुझाव संकलन गर्दै उम्मेदवार यादव शान्त भएर सुन्दै रहनुभयो। बीच–बीचमा उहाँले नोट गर्नुभयो, प्रश्न गर्नुभयो, र सबैभन्दा महत्वपूर्ण—आँखा जुधाएर भरोसा दिनुभयो। उहाँले भन्नुभयो, “म यहाँ चुनाव जित्न मात्रै आएको होइन। तपाईंहरूले सुनाउनुभएको हरेक पीडा मेरो जिम्मेवारी हो। जनताले दिएको भरोसाबाट म कहिल्यै पछि हट्दिनँ।”
उहाँका यी शब्द सुन्दा धेरै मतदाताको आँखामा आँसु देखिन्थ्यो। एक वृद्ध किसानले भन्नुभयो, “हामीलाई ठूलो वाचा चाहिँदैन, हाम्रो कुरा सुन्ने मान्छे चाहिएको हो।” युवाहरूले रोजगारी र अवसरको अपेक्षा राखे, महिलाहरूले शिक्षा र स्वास्थ्य सेवामा पहुँचको माग गरे। यादवले सबै सुझावलाई आफ्नै एजेन्डाको आधार बनाउने प्रतिबद्धता जनाउनुभयो।
बाँके क्षेत्र नं ३ का स्थानीयहरूका अनुसार यसपटकको भेटघाट औपचारिकभन्दा बढी आत्मीय बन्यो। राजनीतिक भाषणभन्दा मानवीय संवाद हाबी थियो। यही कारण यादवलाई “सुन्ने नेता” भनेर चिनिन थालेको स्थानीय बताउँछन्। यादव युवा नेता, स्थानीय भएको र अवधि भाषामै गुनासो सुन्ने र जवाफ दिने भएको हुदा पनि स्थानीयले खुबै चासोको साथ लिएका छन् ।
बाँके क्षेत्र नं ३ मा पाँचपक्षीय प्रतिस्पर्धा हुने बताइएको छ । जसमा नेकपा एमालेबाट सुमन मल्ल, कांग्रेसबाट अमर पुन, रास्वपाबाट खगेन्द्र सुनार, नेपाली कम्युनिस्ट पार्टीबाट दिपक जि.एम. र जसपा नेपालबाट सुर्यलाल यादवको कडा प्रतिस्पर्धा हुने बताउँछन् ।

