नेपालगञ्ज- प्याब्सन नेपालगञ्जको आयोजनामा मिति २०८२ साल मङ्सिर २५ गतेदेखि २७ गतेसम्म सञ्चालित प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ शनिबार भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन मङ्सिर २५ गते प्याब्सन नेपालगञ्जका अध्यक्ष मानबहादुर थापाको सभापतित्व तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा भएको थियो।
उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष तरुण बज्राचार्य, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, प्याब्सन बाँकेका पदाधिकारीहरू, प्याब्सन नेपालगञ्ज नगर कार्यसमिति, साथै विभिन्न विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ज्वाला खेलमैदानमा तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा १८ विद्यालयका छात्र–छात्रा, महिला शिक्षक–कर्मचारी तथा पुरुष शिक्षक–कर्मचारी गरी चार विधामा ५८ वटा टिमले सहभागिता जनाएका थिए।
उक्त प्रतियोगिताका नतिजा यसप्रकार रहेका छन्:
छात्रा भलिबल कप
प्रथम: नेपालगञ्ज मोडेल एकेडेमी
द्वितीय: मुनतारा इङ्लिस मिडियम हाइ स्कुल
तृतीय: जय बागेश्वरी सेकेन्डरी स्कुल
छात्र भलिबल कप
प्रथम: स्टार फ्युचर सेकेन्डरी स्कुल
द्वितीय: वेस्ट जोन इङ्लिस मिडियम हाइ स्कुल
तृतीय: मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुल
महिला शिक्षक–कर्मचारी भलिबल कप
प्रथम: नेपालगञ्ज मोडेल एकेडेमी
द्वितीय: जय बागेश्वरी सेकेन्डरी स्कुल
तृतीय: आदर्श माध्यमिक विद्यालय
पुरुष शिक्षक–कर्मचारी भलिबल कप
प्रथम: जी.भि.एन. सेकेन्डरी स्कुल
द्वितीय: वेस्ट जोन इङ्लिस मिडियम हाइ स्कुल
तृतीय: जय बागेश्वरी सेकेन्डरी स्कुल
विजेता तथा उपविजेता विद्यालयका खेलाडीहरूलाई प्रमाणपत्र र मेडलसहित सम्मान गरिएको थियो भने विद्यालयहरूलाई ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ।
नगद पुरस्कारतर्फ छात्र तथा छात्रा भलिबलतर्फ प्रथमलाई रु ६,०००, द्वितीयलाई रु ५,००० र तृतीयलाई रु ४,००० प्रदान गरिएको थियो। त्यसैगरी महिला तथा पुरुष शिक्षक–कर्मचारी भलिबलतर्फ प्रथमलाई रु १०,०००, द्वितीयलाई रु ७,५०० र तृतीयलाई रु ५,००० नगद पुरस्कार प्रदान गरिएको थियो।
प्याब्सन नेपालगञ्जका उपाध्यक्ष हेमन्त राज काफलेले यस प्रकारका प्रतियोगिताले विद्यालयस्तरमा खेलकुद विकास, आपसी सद्भाव तथा शारीरिक स्वास्थ्य प्रवर्द्धनमा टेवा पुग्ने बताएका छ्न ।

