नेपालगन्ज- बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ब्रीटिस इङ्लिस बोर्डिङ स्कुल नेपालगन्जमा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका हवल्दार कृष्णबहादुर खड्का र सहायक हवल्दार टेकराज अधिकारीले विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक बत्तीको अर्थ, सडक पार गर्ने सही तरिका, सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा हेल्मेट किन अनिवार्य रूपमा लगाउनुपर्छ भन्ने विषयमा व्यवहारिक र उदाहरणसहित सचेतना दिइएको थियो। विशेषगरी बालबालिकालाई सानै उमेरदेखि ट्राफिक नियमको ज्ञान भए दुर्घटना न्यूनीकरण गर्न सकिने र अभिभावकलाई पनि विद्यार्थीहरुले जानकारी दिनु पर्नेमा जोड दिइएको हो ।

ट्राफिक प्रहरीले हेल्मेटले टाउकोको सुरक्षा मात्र नभई जीवन रक्षा गर्ने महत्वपूर्ण साधन भएको बताउँदै नियमको पालना सबै नागरिकको दायित्व भएको उल्लेख गरेका थिए । विद्यार्थीहरूले कार्यक्रमलाई चासोका साथ सुनेका थिए र जिज्ञासाहरू समेत राखेका थिए।
विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफलेले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा अनुशासन, जिम्मेवारी र सामाजिक चेतना विकास हुने जानकारी दिए भने यस्ता कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर गरिने बताए ।
