नेपालगञ्ज: वर्षा याम सुरु भएपनि रासायनिक मलको चरम अभावका कारण किसानहरु संकटमा परिरहेका बेला योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल) बाँकेले प्रमुख जिल्ला अधिकारी सिडियोलाई ज्ञापनपत्र बुझाएको छ।
वाईसीएलले बुझाएको ज्ञापनपत्रमा हाल देशभर कृषकहरूले कालो बजारीका कारण मल अभाव भोग्नु परेको कठिनाइप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ। “श्रम तथा उत्पादनमा वाइसीएल” अभियान अन्तर्गत वाईसीएलले किसानहरूको समस्यालाई निरन्तर उठाउँदै आएको र अहिलेको समयमै मलको आपूर्ति नहुँदा उत्पादनमा प्रतिकूल असर परेको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा कृषि मन्त्रालय र मल आपूर्ति गर्ने निकायहरुको कालोबजारी, निष्क्रियता, ढिलासुस्ती र दलालको चलखेलका कारण किसानले सास्ती भोग्नुपरेको उल्लेख गर्दै यथाशिघ्र मल वितरण प्रणालीलाई न्यायसंगत र व्यवस्थित बनाउन माग गरिएको छ।
वाईसीएल बाँकेका अध्यक्ष नरेन्द्र ददेलको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा यो समस्या समाधान नभएमा देशभरि नै चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ।
ज्ञापनपत्रमार्फत सरकारले समयमै आवश्यक मलको व्यवस्था गरी किसानलाई राहत दिन आग्रह गरिएको छ।
