नेपालगन्ज : संयुक्त ट्रेड युनियन महासंघ जेटियुसिसी बाँकेले बिहीबार न्युनतम पारिश्रमिक वृद्धि गरिनुपर्ने लगायतका मागहरू राखी श्रम रोजगार तथा सामाजिक सुरक्षा कार्यालय नेपालगन्ज मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।
जेटियुसिसीको आयोजनामा बाँकेको नेपालगन्ज सडक विभाग कार्यालय नजिकैबाट र्यालीमा नारा सहित श्रम रोजगार तथा सामाजिक सुरक्षा कार्यालय नेपालगन्ज कार्यालयमा पुगि उक्त कार्यालयका प्रमुख पिन्टु रजकलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल ट्रेड युनियन कांग्रेस बाँके, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँके, जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ बाँकेका नेता तथा कार्यकर्ता लगायतका ३ सयजति श्रमजिवी श्रमिकहरुको बाक्लो उपस्थितिमा ज्ञापनपत्र बुझाएको जेटियुसिसी बाँकेका संयोजक हजरत अलि साइले बताउनुभयो ।
पछिल्लो समयमा महंगी वृद्धि संगै श्रमजीवी श्रमिकलाई अहिलेको न्युनतम पारिश्रमिकले बिहान साँझको छाक टार्न गाह्रो भइरहेको हुदा कम्तीमा पनि न्युनतम पारिश्रमिक ३०४४३ रुपैयाँ कायम गरिनुपर्ने, सम्पूर्ण श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा लग्नुपर्ने, श्रमिकलाई तेस्रो पक्षबाट काममा नलगाई संस्थाले नै नियुक्ति दिनुपर्ने लगायतका मागहरू ज्ञापनपत्रमा समावेश गरिएको छ ।
उक्त ज्ञापनपत्र बुझाउने क्रममा बोल्ने अधिकांश नेताहरुले यदि सरकारले मागलाई सम्बोधन नगरे आन्दोलनको आधीबेरी लिइने बताएका छन् । उक्त ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख रजकले अहिलेको महंगी जमानामा अहिले दिदै आएको न्युनतम पारिश्रमिक कम भएको बताउदै आफुले उक्त ज्ञापनपत्र केन्द्रमा पठाइ आवश्यक पहल गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका कार्यबाहक सभापति तोजिन्द्र बहादुर बि.क., जिफन्ट बाँके अध्यक्ष मंगला जैसी , अन्टुफ बाँके अध्यक्ष तथा जेटियुसिसी संयोजक हजरत अलि साइ, जिफन्ट केन्द्रीय सदस्य पुर्ण केसी, अन्टुफ केन्द्रीय उपाध्यक्ष दान बहादुर वली लगायतले मन्तव्य राख्नुभएको थियो ।
