नेपालगन्ज : नेपालको राजनीतिक वृत्तमा फेरि एक पटक चर्चा सुरु भएको छ — पूर्व उपप्रधानमन्त्री तथा वरिष्ठ नेता बामदेव गौतम नेकपा समाजवादीमा प्रवेश गर्ने भएका छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीमा अब बामदेवको सक्रियता जनताले आशाको किरण देख्ने कि पुरानै राजनीति पुनः दोहोरिएको अनुभव गर्ने? यसको बहस यदाकदा चुलिँदै गएको छ।
नेकपा एमालेबाट छुट्टिएर विभिन्न भूमिकामा देखिएका गौतमको यो निर्णयले राजनीतिक समीकरणमा तातो हावा थपेको चर्चा चलिरहेको छ। उनका समर्थकहरू भन्छन् – “यो परिवर्तन गौतमको वैचारिक दृढतासँग जोडिएको हो। समाजवादी मोर्चालाई अब थप मजबूती मिल्नेछ।”

तर, सर्वसाधारण जनताबीच भने मिश्रित प्रतिक्रिया देखिएको छ। भक्तपुरका शिक्षक रमेश न्यौपाने भन्छन्, “नेताहरूले बारम्बार पार्टी फेरिरहँदा देशको राजनीतिमा स्थायित्व आउँदैन। जनता भने रोजगारी, शिक्षा, र स्वास्थ्यको समस्यामा छन्, नेता भने कुर्सीको खेलमा।”
बाँकेकी गृहिणी सुशीला वलीको धारणा फरक छ – “गौतमजस्तो अनुभवी नेताले यदि अबका दिनमा समाजवादी विचारलाई बलियो बनाउने हो भने राम्रो हो। तर, नाम फेरेर काम उस्तै भए भने त दु:खद हुनेछ।”
यसअघि विभिन्न पार्टी एकता र विभाजनमा महत्वपूर्ण भूमिका खेलेका गौतमको पुनः सक्रियता सँगै नेकपा समाजवादीले आगामी निर्वाचनमा नयाँ मोड लिने संकेत पनि गरेका छन्। पार्टी अध्यक्ष माधव नेपालले भने, “बामदेवको आगमनले हाम्रो विचार र संगठन दुवैलाई बल पुर्याउनेछ।”
बामदेव गौतमको प्रवेशले पार्टीभित्र तातो बहस ल्याएको छ भने जनतामा नयाँ आशा र सशंकाको मिश्रित मनोविज्ञान सिर्जना गरेको छ। अब उनको भूमिकाले आगामी महिनामा कस्तो प्रभाव पार्छ, त्यो हेर्न भने बाँकी छ। नेकपा समाजवादी पार्टीले उनलाई तेस्रो बरियतामा राख्ने भएको छ ।
नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता गर्ने सहमति भएको हो।
सहमति अनुसार उनीहरूले साउन २ गते पार्टी एकता गर्ने छन्।
अध्यक्ष नेपाल र गौतमले आज शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
केपी घिमिरे नेपालगन्ज
