नेपालगन्ज : “शान्तिका लागि साइकल भ्रमण” भन्ने मुल नाराका साथ नेपालका ७५३ वटा स्थानीय तहको भ्रमण साइकलबाट गर्न भनि २०७८ साल मंसिर महिनादेखि यात्रामा निस्किएका ७२ वर्षीय वृद्ध बाँकेको नेपालगन्जमा आइपुग्नु भएको छ ।
शुक्रबार साँझ नेपालगन्ज आइपुगेका ७२ वर्षीय वृद्ध बुबा रामभक्त प्याकुरेललाई नेपालगन्ज साइक्लिङ क्लवले स्वागत गरेको थियो । हालसम्म ६३६ स्थानीय पालिका भ्रमण गरिसक्नु भएको उहाँले बाँकी ११७ वटा स्थानीय तहको भ्रमण गर्न बाँकी रहेको बताउनुभयो ।
मोरङ जिल्लाको रतुवामाईबाट यात्रा सुरु गर्नु भएको उहाँले २०८१ असार मसान्तसम्म सबै पालिका घुमेर सक्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले यात्राका क्रममा प्रत्येक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका मै पुगेर फोटो खिचाउने र त्यहाँ भेटिनु भएको पालिका प्रमुख वा प्रतिनिधिहरुसित कुराकानी गरेको बताउनुभयो ।
उहाँका अनुसार सुदूर पश्चिम प्रदेशका पुरै पालिका बाकी रहेको र लुम्बिनी प्रदेशका बाँके र बर्दियाका स्थानीय तह घुम्न बाँकी रहेको बताउनुभयो । नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटाले उहाँलाई सम्मान गर्दै शान्तिका लागि स्थानीय पालिकाको भ्रमण गर्नुहुने बुबाबाट हामीले पनि सिक्नुपर्ने बताउनुभयो । साइक्लिङ क्लबले उहाँलाई शुक्रबार र शनिबार खाने बस्ने व्यवस्था मिलाएको सापकोटाले बताउनुभयो । उहाँलाई क्लबका कोषाध्यक्ष राजेश गुप्ता, सल्लाहकार लभराज श्रेष्ठले पनि अबिर र खादाले सम्मान गर्नुभएको थियो ।