बाँके यूनेस्को क्लब र प्लान इंटरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम बर्दियामा सम्पन्न भएको छ ।
बर्दिया, भुरीगाउँमा सफलतापूर्वक सम्पन्न भएको सो तालिममा २५ जना १८ देखि २४ वर्ष उमेर समूहका युवतीहरूको सक्रिय सहभागिता रहेको थियो ।
तालिमको मुख्य उद्देश्य युवतीहरूलाई वातावरण र हरित अर्थतन्त्रको महत्व, प्रदूषित वातावरणका कारण विश्व तापमान बढ्दै जानु र जलवायु परिवर्तन जस्ता नकारात्मक प्रभावहरूको बारेमा ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार प्रशिक्षकहरूले समुदाय स्तरमा वातावरण संरक्षणका लागि गर्नुपर्ने आवश्यक पहलहरू बारे र विद्यमान पर्यावरणीय कानून तथा यसको प्रभावकारी कार्यान्वयनका महत्वका बारेमा बिस्तृत रुपमा जानकारी दिएका थिए ।
क्लबका अध्यक्ष रवि तुलाधरका अनुसार तालिममा सहभागी युवतीहरू यस तालिम प्रति निकै उत्साहित र उत्सुक देखिएका थिए । उनीहरूले आत्मनिर्भर र आर्थिक रूपमा सक्षम भई समाजमा सम्मानजनक जीवन जिउनका लागि हरित व्यापारमा संलग्न हुने इच्छा व्यक्त गर्नुका साथै समुदाय स्तरमा वातावरण संरक्षणमा योगदान पुर्याउन सचेतना फैलाउने समेत प्रतिबद्धता जाहेर गरेका थिए ।
सो तालिममा बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापा मुख्य प्रशिक्षकको रूपमा रहनु भएको थियो । उहाँले पर्यावरण सम्रक्षण अबको समयमा अतिनै महत्वपूर्ण बिषय भएको जनाउँदै मानवको सानो गलतीले बिश्वका अन्य मानवमा ठुलो नकारात्मक प्रभाव पर्न सक्ने हुँदा सचेत भएर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।
सो तालिममा बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत राधे कृष्ण थारु र फिल्ड सुपरवाइजर कञ्चन दहितले तालिमको सफल कार्यान्वयन र व्यवस्थापनमा उल्लेखनीय सहयोग पुर्याउनुभएको क्लबले जनाएको छ ।