आन्तरिक राजस्व कार्यालय बाँकेको कर सप्ताह कार्यक्रम  सुरु 


नेपालगंज- स्थानीय व्यवसायी तथा सर्वसाधारणमा करसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय नेपालगंज बाँकेले आजदेखि  ‘कर सप्ताह’ कार्यक्रम सुरु गरेको छ।

साताव्यापी कार्यक्रमअन्तर्गत आज बिहान प्रभातफेरि आयोजना गरी आ.रा.का. नेपालगन्ज परिसरबाट सुरु भई बि.पी. चोक-धम्बोझी चोक-सेतु बि.क. चोक-न्युरोड-त्रिभुवन चोक- चारबाहिनी चोक-गणेशमान चोक हुँदै  विभिन्न ठाउँमा कर सचेतनाका बारेमा जानकारी गराइएको हो।

प्रभातफेरिपछि कार्यालय परिसरमा आयोजित कार्यक्रममा नेपाल सरकारका उधोग मन्त्री दामोदर भण्डारीले यहाँ उद्योग, व्यवसायीले राज्यले निर्धारण गरेको राजस्व तिर्दै आएका भन्दै करको दायरामा नआएका व्यवसायीलाई करको दायरामा आउन आग्रह गरे ।

उनले सबै व्यवसायीले इमानदारीपूर्वक कर तिर्ने हो भने राज्य बलियो हुनुका साथै विकास, निर्माणले गति लिने धारणा ब्यक्त गर्नु भयो ।

त्यसै गरी उद्योग बाणिज्य संघ नेपालगंजका बरिष्ट उपाध्यक्ष चिरञ्जीवी वलीले आन्तरिक राजस्व कार्यालयले सचेतनामूलक कार्यक्रममार्फत कर नतिर्नेलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले कार्यालयको उक्त अभियानमा सङ्घले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपानेले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत व्यवसायी, उद्योगीसँग शिक्षण संस्थामा कर शिक्षा, उत्कृष्ट करदातालाई सम्मान, विभिन्न स्थानमा कर सचेतनालगायत कार्यक्रम गरिने जानकारी दिए।

व्यवसायीलाई करको दायरामा ल्याउन लेखा परीक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले राज्यलाई सहयोग भएको कार्यालय प्रमुखले जनाउनु भयो ।

यस वर्षको राष्ट्रिय कर दिवस ‘कर प्रणालीको सार लगानीको आधार’ भन्ने नाराका साथ मनाउन लागिएको जनाउँदै प्रमुख कर अधिकृत न्यौपाने सबै व्यवसायीलाई राज्यले निर्धारण गरेको कर नियमित र समयमै तिर्न आग्रह गर्नु भयो ।

आर्थिक ऐन, २०८१ ले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आव २०७९/०८० सम्मको विवरण बुझाएमा र २०८० असार महिना सम्मको बुझाउन बाँकी मूल्य अभिवृद्धि कर विवरण र सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्तसम्म छुट सुविधा दिने व्यवस्था गरेको छ ।

कार्यालयबाट कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धित जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्नेलगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने कार्यालय प्रमुख न्यौपानेले बताउनु भयो ।

मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा उत्कृष्ट करदातालाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी राष्ट्रिय कर दिवस समापन कार्यक्रम हुनेछ ।

उक्त कार्यक्रममा  प्रमुख अतिथि नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारिले कर सप्ताह शुरु कार्यक्रमको पानसमा बत्ति बाल्दै समुदघाटन गर्नु भएको थियो ।

सो कार्यक्रमा प्रतिनिधि सभा सदस्य दिपा शर्मा, प्रमुख जिल्ला अधिकारि खगेन्द्र प्रसाद रिजाल, बिशेष अतिथि हुनुहुन्थ्यो भने कार्यक्रम संचालन कर अधिकृत बिष्णु शाहीले गर्नु भएको थियो  ।
कार्यक्रममा ब्यवसायी, कर्मचारी, विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकारहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
पत्रकार जयपति ढकालको सहयोगमा तयार पारिएको समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *