नेपालगन्ज : आउनुहोस् हराएको मानवताको खोजी गरौं भन्ने मुल नाराका साथ सामाजिक कार्यमा सक्रिय संस्था मानवता नेपाल बाँकेको आयोजनामा नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर परिसरमा बृहत् सरसफाइ सम्पन्न भएको छ ।
शनिबार बिहान ७ बजे सुरु भएको सरसफाइमा अभियानमा मन्दिरको पूर्व तिर रहेको प्रत्येक सोमबार महाआरती हुने स्थान वरिपरि सरसफाइ गरिएको छ । सो क्षेत्रमा सरसफाइ गर्ने क्रममा बियर र दारुका बोतल, पान गुट्का लगायतका खोस्टा छरपस्ट थिए । मन्दिर परिसर भित्र नै बियर बोतल भेटिएपछि मन्दिरको दर्शन गर्न आएका दर्शनार्थीहरु चकित भएका थिए ।
त्यहाँ परिसर भित्र रहेको सार्वजनिक शौचालयमा अवलोकन गर्दा चारैतिर फोहर भेटिएको छ भने दिसापिसाब बाहिरै गर्ने गरेको पाइएको छ। बागेश्वरी मन्दिरको पुर्वतिर रहेको ढल तथा नालीमा पुरै भरिएको हुदा पानी ढलको बाहिर आएको देख्न सकिन्छ ।
मानवता नेपाल बाँकेका अध्यक्ष मधुसूदन अधिकारीको नेतृत्वमा भएको उक्त सरसफाइ कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेश सभाषद अम्बिका काफ्ले, सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र कुमार जोसी, कानुन समाज सेवा नेपालका अध्यक्ष छत्र सुनार, मानवता नेपालका कार्यसमिति टिम, आजीवन सदस्यहरुको उपस्थित रहेको थियोे ।