नेपालगन्ज : पछिल्लो समय नेपालगन्ज शहरमा बढ्दो सवारी चाप, यातायातका साधनको भिडभाड बढिरहेको छ, यहाँको मुख्य सडक बि.पी. चोक, धम्बोझी चोक, गणेशमान चोकमा जडान गरिएको वर्ष दिन वित्दा समेत ट्राफिक लाइट नबल्दा चौतर्फी विरोध आइरहेको छ ।
नेपालगन्जमा बढ्दो सवारी चापबाट हुने सडक जामलाई व्यवस्थित गर्न एक वर्षअघि मुख्य चोकमा ट्राफिक लाइट जडान गरिएको थियो। ट्राफिक लाइट जडान भएको केहि दिन परीक्षण समेत गरियो । पूर्व शहरी तथा भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा सडक डिभिजन कार्यालय, नेपालगन्जले उक्त ट्राफिक लाइट जडान गरेको थियो तर लाखौँ रुपैयाँ खर्च गरेर जडान भई परीक्षण समेत भइसकेको उक्त ट्राफिक लाइट अहिले बेवारिसे जस्तै भएको छ ।
सडक डिभिजन कार्यालयले उक्त ट्राफिक लाइट नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको मातहतमा रहेको ट्राफिक लाइटलाई आवश्यक पर्ने विद्युत समेत उपमहानगरले ब्यवस्था गरेको हो । ट्राफिक लाइट संचालनमा नल्याउँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । तीव्र गतिमा हुइकिने सवारी साधन चोकमा समेत गति कम नगर्दा दुर्घटना भइरहेको स्थानीयको गुनासो छ ।
नेपालगन्जका मुख्य चोक पुष्पलाल चोक, धम्बोझी चोक, बि.पी. चोक र गणेशमान चोकमा ट्राफिक लाइट जडान भएको छ । पैदलयात्रुलाई सडक वारपार गर्न सहज होस् भन्ने उद्देश्यले बनाइएको ट्राफिक लाइटका साथै जेब्राक्रसको संकेत समेत बनाइएको छ । तर सवारी चालकले तीव्र गतिमा गाडी चलाउँदा पैदल यात्रुलाई जोखिम मोलेर सडक वारपार गर्न परेको छ ।
नेपालगन्जका मुख्य चोकमा जोखिम मोलेर सडक वारपार गर्न वाध्य भएको स्थानीय कल्लु भंगीले बताए । स्थानीय सरकारले किन पहल नगरेको होला ? सडक विभाग तथा स्थानीय सरकारले किन त्यतातिर ध्यान नदिएका होलान् स्थानीय गोर प्रसाद उपाध्यायले गुनासो गरे । बढ्दो सवारी चापमा मुस्किलले धम्बोझी चोकमा सडक पार गरेपछि स्थानीय उपाध्यायले राहत महशुस गरे । उनले ‘सडक वारपार गर्न साह्रै गाह्रो छ । जेब्राक्रस भए पनि सवारी चालकलाई यसको बारेमा जानकारी नभएको जस्तो लाग्छ । जेब्राक्रसमा समेत तीव्र गतिमा सवारी साधन चलाउँदा ठोकिने हो की भन्ने डर लाग्छ,’ उनले भने, ‘ट्राफिक लाइट हुँदाहुँदै पनि जोखिम मोलेर सडक वारपार गर्न परेको छ ।’ यसको बारेमा सरोकारवालाको ध्यान जान जरुरी भएको रहेको छ ।