२८ घण्टा पछि खुलेको नारायणगढ- मुग्लिनको सडक पुनः पहिरो खस्दा अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सोही स्थनामा बिहीबार दिउँसोबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

लामो समय (अठ्ठाइस घण्टा) लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने हजारौं यात्रुहरु अलपत्र परेका छन् ।
पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक हजारौं सवारी आवतजावत गर्ने गर्दछन् ।
