नेपालगन्ज : लामो समयसम्म बालरोग विशेषज्ञका रुपमा काम गरेका नेपालगन्जका डा. दुर्गा प्रधानको आज निधन भएको छ ।
डा. प्रधानको उपचारका क्रममा उनको वेष्टर्न अस्पताल नेपालगन्जमा आज दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान जिल्लाको खलंगामा डा. प्रधानको वि.स.२००२ सालमा जन्मिएका थिए ।
वि.स २०३८ सालमा भेरी अस्पतालमा नेपालगन्जमा मेडिकल अधिकृतको रुपमा जागिर सुरु गरेका डा. प्रधानले २४ वर्षसम्म भेरीमै बसेर सेवा दिए । सेवा निवृत्त भएपछि भने उनले नेपालगन्जमा त्रिपुरा बाल अस्पताल संचालन गरेर बालबालिकाको उपचार सेवा दिँदै आएका थिए । बरिष्ठ बालरोग बिशेषज्ञ डा. प्रधानले यसक्षेत्रका लाखौं बालबालिकाको उपचार गरेर आज आफ्नो भौतिक शरीर त्याग गरेका छन ।
स्वास्थ्यमा समस्या देखिएपछि डा. प्रधानलाई भदौ ४ गतेदेखि नेपालगन्ज स्थित वेष्टर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी पहिलेदेखिनै सुगरको समस्याले ग्रसित थिए । उपचारमा संग्लग्न वरिष्ठ फिजिसियन डा. खगेन्द्र जंग शाहका अनुसार डा. प्रधानले फोक्सोको टिबीसँगै कलेजो र किड्नीको समस्या पनि देखिएको थियो ।
पछिल्लो समय श्वास प्रश्वास लगायतको समस्या देखिएको डा. शाहले जानकारी दिए । यस क्षेत्रका चिकित्सकहरुका अभिभावक समेत रहेका डा. प्रधानको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै चिकित्सकहरुले गहिरो दुःख प्रकट गरेका छन् ।
डा. प्रधानको पार्थिव शरिरलाई अत्यष्टिका लागि काठमाडौं पशुपति आर्यघाटमा लाने तयारी भईरहको पारिवारीक श्रोतले जानकारी दिएको छ । डा. प्रधानका श्रीमती र तीन छोरा रहेका छन ।
