नेपालगन्ज : नेपालगन्जमा सुरु हुने चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सबको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले सोमवार पत्रकार सम्मेलन गरी महोत्सबको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । माघ १० देखि २४ गते सम्म सञ्चालन हुने महोत्सबको उद्घाटन लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी नमुनाले गर्नुहुने भएको छ ।
उद्घाटन गर्ने दिन धम्बोझीदेखि झाँकी सहितको र्याली निकाल्ने आयोजकले जनाएको छ । महोत्सवका लागि गेट तथा स्टल निर्माणको काम, बाल उद्यान जडान लगायतका कार्य पुरा भएको आयोजक समितिले जनाएको छ ।
महोत्सवलाई आकर्षक बनाउन थारु होमस्टे, थारु गाउँ, टिकटक पारखीका लागि टिकटक प्वाइन्ट निर्माण लगायत प्रचारप्रसारको कार्य तीब्र रुपमा अगाडि बढाइएको आयोजक सचिवालयका संयोजक जिआर भुषालले जानकारी दिनुभयो । उहाँको अनुसार २ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र २ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबारसमेत हुने आयोजकको अपेक्षा छ । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिइने संयोजक भुषालले बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा भोलि माघ १० गतेदेखि माघ २४ गतेसम्म नेपालगञ्ज-१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा प्रादेशिक स्तरीय ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी पूरा भएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।