नेपालगन्ज – भेरी प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीहरुलाई अक्सिजन अभाव हुन नदिनका लागि नागरिक स्तरबाट सहयोग अभियान सुरु गरिएको छ।
युथ टुडेका संवाददाता सामाजिक कार्यमा अग्रपन्तीमा रहेर काम गर्दै आउनु भएका अजिज अहमद हल्वाईले भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललाई अक्सिजन खरिदका लागि रु दश हजार आर्थिक सहयोग गर्नु भएको छ ।

हलवाईले अक्सिजन आपूर्तिका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा डिडिएमसीको बैठक चली रहेकै बेला उक्त सहयोग रकम अस्पताल विकास समितिका अध्यक्ष धितालालाई हस्तान्तरण गर्नु भयो। पत्रकार हल्वाईले अक्सिजन खरिदका लागि अस्पतालसित आर्थिक अभाव रहेको खबर सुनेर आफुले सो सहयोग रकम उपलब्ध गराइएको जानकारी दिनु भयो ।
अस्पतालका अध्यक्ष धितालले अस्पताललाई गरेको सहयोगप्रति हल्वाईलाई आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताउनु भयो । अस्पतालले स्थापना गरेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड अहिले पुरै भरिएको छ। उक्त वार्डका संक्रमितका लागि अचेल दैनिक रूपमा २ सय ५० देखि ३ सयवटा सिलिण्डर खपत भइरहेको मेसु थापाले जानकारी दिनु भयो।
बिरामीको चाप अझ बढ्दै जाने हो भने अक्सिजन अझै चाहिन्छ, अरु अस्पतालमा पनि खपत बढ्न थाल्यो भने त अक्सिजन उद्योगले पनि थेग्न गाह्रो होला,’ उहाँको भनाई थियो। नेपालगंज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले अक्सिजन खरिदका लागि २ लाख रुपिया अस्पताल विकास समितिलाई आजै शुक्रबार एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको छ ।
अस्पतालमा उत्पन्न हुन सक्ने अक्सिजन अभाव कम गर्न नागरिक स्तरबाट पनि सहयोग अभियान सुरु गरिएको छ। मानव अधिकारकर्मी एंव युथ टुडेका संचालक प्रधान सम्पादक आलम खानको अगुवाईमा अस्पताललाई सहयोग गरिएको हो। खानले अक्सिजनको अभाव पूर्तिका लागि अभियान सुरु गरेको बताउनु भयो । यस्तै नेपालगंजका सामाजिक अभियन्ता हेमन्त राज काफ्लेले अक्सिजन अभाव हुन नदिनका लागि आर्थिक संकलन गरिरहनु भएको छ ।
अजिज हल्वाई महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीका साथै मानवता नेपाल संस्थाका संस्थापक सदस्य समेत रहेका छन् ।
