नेपालगन्ज : नेपालगन्ज सहरमा पछिल्लो समयमा अटो रिक्साको संख्यामा उल्लेख्य वृद्धि भएको छ, यसले गर्दा सडकमा जथाभावी पार्किङ गर्ने, जहापायौ त्यहीँबाट अटोरिक्सा घुमाउने गर्दा दुर्घटनाका घटनाहरु पनि वृद्धि भइरहेको छ, महिनौंदेखि नम्बर प्लेट नभएका अटो रिक्सा गुडिरहदा पनि स्थानीय सरकार र प्रहरी प्रशासन मुकदर्शक भएको स्थानीयले बासिन्दा बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिकाले रिक्सा दर्ता गर्न पटकपटक सूचना जारी गरिरहेको हुन्छ, ट्राफिक प्रहरीले, नगर प्रहरीले कहिलेकाही चेकजाँच गरेजस्तै गरेको पनि देखिन्छ तर समस्या जस्ताको तस्तै रहेको छ यसको लागि दिर्घकालिन समस्या समाधान गर्न जरुरी छ ।

मंगलबार नेपालगन्जको धम्बोझी चोकमा सबारी लिएर हिडिरहेको नम्बर नभएको अटो चालकलाई नेपालगन्जका समाजसेवी विनोद अग्रहरीले यो कहिलेदेखि चलाईरहेको भनेर प्रश्न गर्दा २ दुई महिनादेखि चलाइरहेको ती चालकले बताए । तत्काल उहाँले त्यहाँ अटोमा रहेका यात्रुलाई झारेर अर्को रिक्सामा पठाउनु भयो ।
अटो रिक्सावालाले उहाँसंग अझै मुखामुख लागिरहेका थिए त्यहाँ अन्य मानिसहरु जम्मा भएर गाली गरेपछि अटो रिक्सा त्यहाँबाट हिडेका थिए । यो घटना प्रतिनिधि पात्र मात्रै हो यस्ता थुप्रै अटो रिक्सा सडकमा देखेको स्थानीयले बताउँछन् । यस्तै नम्बर नभएका अटो रिक्साले दुर्घटना गराउने अनि छिमेकी देशतिर भाग्ने गर्ने गरेको स्थानीयले बताए । समाजसेवी अग्रहरीले यो रिक्साको समाधान, ट्राफिक व्यवस्थापन, छाडा चौपाया नेपालगन्जको मुख्य समस्या भएको बताउनुभयो ।

