नेपालगन्ज :
लामो समयदेखि पत्रकारिताको क्षेत्रमा सक्रिय रहँदै आएका खवर नेपालगन्ज अनलाइनका पत्रकार अनिस साहले अब पत्रकारितासँगै राजनीति यात्रा पनि तय गर्नुभएको छ। समाजका विभिन्न मुद्दा, सुशासन, पारदर्शिता तथा नागरिकका आवाजलाई कलम र क्यामेरामार्फत उठाइरहनुभएका साहले नीति निर्माण र प्रत्यक्ष जनसेवाको तहमा अझ प्रभावकारी भूमिका खेल्ने उद्देश्यका साथ राजनीतिमा पाइला चाल्नुभएको हो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको नेपालगन्ज उपमहानगरपालिका वडा नं ७ को वडा अध्यक्षक आकांक्षीको रुपमा पार्टीको क्याण्डिडेट क्लवमा दरखास्त दिनुभएको छ ।
साह पत्रकारिताको अनुभवले समाजका यथार्थ, समस्या र सम्भावनालाई नजिकबाट बुझ्न सघाएको उल्लेख गर्दै साहले अब त्यसलाई व्यवहार र नीतिमा रूपान्तरण गर्न राजनीति आवश्यक ठानेको बताउनुभएको छ। उहाँका अनुसार पत्रकारिताले प्रश्न गर्ने र तथ्य बाहिर ल्याउने काम गर्छ भने राजनीतिले ती समस्याको समाधान गर्ने संरचना र निर्णय प्रक्रियामा पुर्याउँछ। उहाले टिकट पाएमा वडाको विकासमा महत्त्वपूर्ण योगदान दिनसक्ने स्थानीयले बताएका छन् ।

यद्यपि, राजनीतिमा सक्रिय हुँदै गर्दा पत्रकारिताको व्यावसायिक मर्यादा, निष्पक्षता र नैतिकतामा कुनै आँच आउन नदिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। पेशागत धर्म र राजनीतिक दायित्वबीच स्पष्ट सीमा कायम राख्दै पारदर्शी ढंगले अघि बढ्ने उहाँको भनाइ छ।
स्थानीय तहका मुद्दा, भ्रष्टाचार , युवाको सहभागिता, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना बनाउनुभएका साहको यो कदमलाई कतिपयले अनुभव र दृष्टिकोणसहितको नयाँ राजनीतिक अभ्यासका रूपमा लिएका छन् भने कतिपयले पत्रकारिता र राजनीतिबीचको सन्तुलनलाई चासोका साथ हेरेका छन्।
