नेपालगन्ज : केही दिन पहिला छोरीलाई टिउसन पढेको ठाउँबाट घरमा लिन जादा चट्याङ लागेर स्कुटरबाट लडेर गम्भीर घाइते भएकी नेपालगन्ज उपमहानगरपालिका वडा नं २० बस्ने सुमित्रा बरालकी छोरी १२ वर्षकी हिमानी शर्माले आमाको खेतमा धान काट्न सहयोग माग्दै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा गरेको आग्रहपछि श्रम संस्कृति पार्टी बाँकेका श्रमदाताहरु बिहिवार, शुक्रबार र शनिबार खेतमा पुगेका थिए ।
श्रम संस्कृति पार्टी जनताको सुखदुःखको साथी भन्ने मुल नाराका साथ उक्त पार्टीका बाँके श्रम संयोजक मेघराज सुनारको नेतृत्वमा उनीहरूले नेपालगन्ज उपमहानगरपालिका–२०, राँझास्थित मनकामना ग्यास नजिक बस्ने सुमित्रा बरालको लगभग पाँच कठ्ठा खेतको धान काट्नेदेखि थ्रेसर लगाएर भित्र्याउनेसम्मको काम गरेका छन्।

गत मंगलबार सुमित्राकी छोरी हिमानी शर्माले सामाजिक सञ्जाल फेसबुक र टिकटक मार्फत ‘मेरो आमा बिरामी हुनुहुन्छ, कसैले श्रमदान गर्न चाहनुहुन्छ भने सहयोग गरिदिनुहोला’ भन्दै आग्रह गरेकी थिइन्। उनको आग्रहपछि श्रम संस्कृति पार्टी बाँकेको टोली सहयोगका लागि खेतमा पुगेको हो।
जिल्ला अध्यक्ष श्रीमान थापा मगर, पार्टीका अगुवा श्रमदाता चाँद खाँ, वरिष्ठ श्रमदाता मिराज अहमद हलवाई (हिमालय), प्रस्तावित केन्द्रीय सदस्य राजन राणा मगर, जिल्ला उपाध्यक्ष मोहम्मद रहिस हलवाई, बाँके श्रम संयोजक तथा उपाध्यक्ष मेघराज सुनार, सचिव दण्डप्रसाद शर्मा, नगर श्रम संयोजक इम्तियाज राई र अस्लम अन्सारीलगायत श्रमदाताले धान काट्ने, थुपार्ने र थ्रेसर लगाएर झार्ने काम समेत गर्ने श्रम संयोजक धर्म सुनारले बताए ।
श्रमदानमा सहभागी प्रस्तावित केन्द्रीय सदस्य राजन राना मगरले अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्नु श्रम संस्कृतिको उद्देश्य भएको बताए। उनले आवश्यक परेका ठाउँमा श्रमदानलाई निरन्तरता दिने बताए। कसैले पनि दु:ख परेको बेलामा निर्धक्क पार्टीलाई सम्झन अनुरोध गरेका छन् ।
वरिष्ठ श्रमदाता मिराज अहमद हलवाईले हिमानीको आग्रहपछि श्रम संयोजकको नेतृत्वमा आफूहरू सहयोगका लागि पुगेको बताए। उनले पाँच कठ्ठा खेतको धान काट्नेदेखि भित्र्याउनेसम्मको काममा तीन दिनदेखि निरन्तर श्रमदान गरेको जानकारी दिए। श्रमदानमार्फत समस्यामा परेको परिवारलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए।
पार्टीका जिल्ला उपाध्यक्ष मोहम्मद रहिस हलवाईले सुमित्रा चट्याङ लागेर घाइते भएपछि परिवारलाई धान भित्र्याउन समस्या भएको जानकारी पाएर टोली सहयोगमा जुटेको बताए। उनका अनुसार श्रमदाताले धान काट्नेदेखि थ्रेसर लगाएर धान झार्नेसम्मको काम सम्पन्न गर्ने बताएका छन्।
हलवाईले पार्टीले राजनीतिक गतिविधिसँगै जनताको सुखदुःखमा साथ दिने उद्देश्यले श्रमदान अभियान सञ्चालन गरिरहेको बताए। आवश्यक परेको ठाउँमा श्रमदाताहरू परिचालन गरेर सहयोग गर्दै आएको उनले जानकारी दिए।
