कोहलपुर : भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिन्छ । यसपटक १९ औं पुस्तकालय दिवस देशमा घटेको प्राकृतिक प्रकोपका कारण धुमधाम साथ नमनाए पनि सामान्य रुपमा मनाएर सम्पन्न गरिएको छ । सोही क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुर केन्द्रीय पुस्तकालय विभागले निबन्ध लेखन प्रतियोगिता गरेर मनाएको छ ।
केन्द्रीय पुस्तकालय कोहलपुरले त्यहाँ अध्ययनरत चिकित्सा शिक्षा , बि.एस.सी. नर्सिङ विद्यार्थीहरुलाई निबन्ध लेखनमा सहभागी गराई उत्कृष्ट लेखन गरी प्रथम , द्वितीय र तृतीयलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी लेखनमा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको छ ।
उक्त निबन्ध लेखन प्रतियोगितामा ३० जना विद्यार्थी सहभागी भएको आयोजकले बताएको छ । जसमध्ये प्रथम स्थान हासिल गर्न वैभवी गौतम, द्वितीय स्थान हासिल गर्न सभ्या चौधरी र तृतीय स्थानमा एन्जिला दाहालले हासिल गर्न सफल भएका थिए । उनीहरूलाई प्रमुख अतिथि नेपालगन्ज मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. अनुप शर्माले पुरस्कार वितरण गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा लेखन कार्यमा सहयोग तथा पुस्तकालयको महत्त्वबारे राम्रोसँग ज्ञान हुने हुदा कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि मेडिकल कलेज शिक्षण अस्पतालका कोर्डिनेटर रामकृष्ण हमालले पुस्तकालयको इतिहासको बारेमा बताउदै पुस्तकालयको महत्त्व र १९ औं पुस्तकालय दिवसको सार्थकताबारे प्रष्ट पार्नु भएको थियोे । कार्यक्रम नर्सिङ कोर्डिनेटर रेखा शाहले स्वागत मन्तव्य राख्नुभएको थियो ।
मेडिकल कलेजका लाइब्रेरीयन मोहनप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रिन्सिपल प्राध्यापक डा. अनुप शर्मा, विशिष्ट अतिथिमा पुस्तकालय समितिका सदस्य तथा रेडियोलोजिस्ट डा. प्रसन्न घिमिरे, प्रशासन कोर्डिनेटर रामकृष्ण हमाल, अतिथिहरुमा वरिष्ठ अधिकृत संजय पौडेल, नर्सिङ कोर्डिनेटर रेखा शाह, एकेडेमी अधिकृत शिखा शर्मा, निर्णायक डा. पुष्कर रिजाल लगायतको उपस्थिति रहेको थियोे । उक्त कार्यक्रममा बेसिक साइन्स चिसापानी,कोहलपुर र नर्सिङ क्याम्पसका विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
