कमल शिशिरले लेखेको “लालटिन बालेर” गीत सार्वजनिक

जीवनशैली लुम्बिनी प्रदेश बिशेष

गुल्मी :  गुल्मीको मदाने गाउँपालिका वडा नं ६ पुर्कोट दहमा  जन्मिएका समाजसेवी कमल लम्साल अर्थात् कमल शिशिरले लेखेको लालटिन बालेर गीत सार्वजनिक भएको छ ।  सानो छदा लालटिन बालेर पढेको सम्झना अझैसम्म ताजै रहेको बताउने शिशिरले लेखेको गीत अहिले बजारमा सर्वत्र गुन्जिरहेको पाइन्छ । आजभन्दा दुई–साढे दुई दशक अघिसम्म पनि नेपालका अधिकांश ग्रामिण क्षेत्रमा विद्युतीकरण भएको थिएन । त्यसैले त्यो समयमा अधिकांश घरमा रातिको अँध्यारो हटाउन लालटिन, टुकी, सल्लाको दियालो  बाल्ने प्रचलन थियो ।

अझै पनि कुनैकुनै जिल्लामा जहा विद्युत् पुगेको छैन ती  ठाउँमा तथा अवस्थामा सल्लाको दियालो तथा राँको अथवा मसाल बालेर काम चलाउने गरिन्छ । मूलतः गण्डकी तथा धौलागिरी क्षेत्रमा रहेका गुरुङ्ग तथा मगर समुदायमा दिनभरको मेलापात सकेर साँझमा रोधी बस्ने चलन थियो । हो, त्यही बेलाको रोधीको झल्कोमा आधारित भएर एउटा नयाँ गीत तयार पारिएको छ, जसको बोल छ– ‘लालटिन बालेर….।’

विभिन्न विधामा कलम चलाउने शिशिरले गजल, कविता, मुक्तक लगायतका साहित्यिक विधामा लामो समयदेखि कलम चलाउने गरेका छन् ।  सामाजिक, राजनैतिक तथा समसामयिक विषयमा अखबारी अनलाइनमा लेख लेख्ने कमल शिशिरले उक्त गीत प्रकाशन गरेका हुन् ।

गीतमा हालका प्रसिद्ध लोक दोहोरी सङ्गीतकार नन्दु परियारको संगीत, संगीतकार तथा मौलिक स्वरका धनी गायक वसन्त थापा तथा देवी घर्तीको स्वर छ । विनोद बजुरालीको संगीत संयोजन रहेको यो गीतलाई खडक बजुरालीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । अडियो रेकर्डिङ मालाश्री रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको जानकारी दिइएको छ ।

यो गीतको भिडियोमा छमछमी सीजन–३ का रनर्सअप शेखर घर्ती मगर तथा रचना न्यौपानेको अभिनय रहेको छ । म्युजिक भिडियोको छायाँकन दिनेश पराजुलीको समूहले गरेको छ भने सुजन कोइरालाको सम्पादन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेको शिशिरले बताए ।

यो गीतको भिडियो कमल शिशिरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लोकदोहोरी शैलीमा तयार पारिएको ‘लाल्टिन बालेर’ गीतले सार्वजनिक भएको छोटो समयमै दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । उक्त गीतको भिडियो युट्युबमा हजारौं पटक हेरिएको छ भने सामाजिक सञ्जालमा पनि चर्चा बटुल्न थालेको छ ।

गीत निर्माण पक्षले नेपाली लोक–संगीतप्रेमी दर्शक–श्रोताको साथ र समर्थनको अपेक्षा गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *