नेपालगन्ज : लर्डबुद्ध एजुकेशनल एकेडेमी लि- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जबीच औषधि उपचार सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपाल प्रहरी अस्पतालबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर भएर आएका वहालवाला र भुपु प्रहरीलाई जनरल, बेड चार्ज, जनरल ल्याव र रेडियोलोजीमा २५ प्रतिशत छुट दिने सम्झौता भएको नेपाल प्रहरी अस्पतालका डिएसपी डा.आनन्द झाले जानकारी दिनुभयो ।

यस्तै अन्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता समेत भएको छ । आश्रित परिवारका सदस्य विरामी भएर प्रहरी अस्पतालबाट रिफर भए उपचारमा १० प्रतिशत छुट दिने सम्झौता भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक डा.रोमन किदुवाईले जानकारी दिनुभयो ।
अस्पतालको तर्फबाट लर्डबुद्ध एजुकेशनल एकेडेमी शिक्षण अस्पताल नेपालगन्जका प्रमुख कार्यकारी अधिकृत सिइयो डा. सुनिलकुमार सिंह र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालको तर्फबाट प्रहरी उपरीक्षक डा. दीपा न्हुच्छे प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
