माओवादी केन्द्रका नेता सुवेदी सम्मानित

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज -नेकपा माओवादी केन्द्र बाँकेले लामो समयदेखि राजनीति गर्दै आउनु भएका नेता प्रकाश सुवेदी (चन्द्राकान्ता) लाई सम्मान गरेको छ ।  नेता सुवेदीलाई स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले आइतवार बाँकेको खजुरामा खादा ओढाएर विषेश सम्मान गर्नु भएको हो ।

खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको सचिवालय बैठकमा नेता सुवेदीलाई सम्मान गरिएको बाँके संयोजक नरेन्द्रप्रसाद पाण्डे (जेम्स)ले जानकारी दिए ।

७० बर्षको उमेरमा पनि पार्टी एवं संगठन निर्माण गर्नमा युवाको जस्तो जोश र जाँगरसहित अहोरात्र खटिनुभएका अग्रज नेतालाई सम्मान गरिएको उहाँले बताउनु भयो । पार्टी रुपान्तरण अभियानसँगै अग्रज नेताहरुलाई पनि सम्मान गर्दै लैजाने परिपाटी बसाल्नका लागि नेता सुवेदीलाई सम्मान गरिएको संयोजक पाण्डेले जानकारी दिनुभयो ।

नेता सुवेदी माओवादी पार्टीको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत बाँकेको बिकट भनेर चिनिने नरैनापुर गाउँपालिकाको इन्चार्ज भई जिम्मेवारी बहन गरिरहेको उहाँले बताउनु भयो ।

सचिवालय बैठकले नेता सुवेदीलाई सम्मान गर्नुका साथै विभिन्न निर्णयहरु गरेको जिल्ला सचिव डिल्ली बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार बैठकले जिल्लाका ८ वटै पालिकामा नमूनायोग्य श्रमशिविर र श्रमदान कार्यक्रमको आयोजना गर्ने, सम्पूर्ण जनवर्गीय संगठन एवं मोर्चाहरुको वडादेखि पालिकासम्मका भेला तथा सम्मेलन असोज महिनाभित्र सम्पन्न गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको असोज १४ गते प्रशिक्षण कार्यक्रम गर्ने, जनताको सहभागितामा वृक्षरोपण तथा सरसफाई कार्यक्रम गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न पार्टीले विषेश पहल गर्ने लगायतका निर्णयहरु गरेको छ ।

बैठकमा सहभागि ८ वटै पालिकाका अध्यक्ष तथा इन्चार्जले अभियानका बारेमा रिपोटिङ गरेको सचिव बरालले जानकारी दिनुभयो । तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु लिएर यतिखेर माओवादी केन्द्र गाउँगाउँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *