नेपालगन्ज :— लुम्बिनी प्रदेश सभासद् अम्बिका काफ्लेले चलचित्र ‘लालीबजार’ बन्द गरिनुपर्ने बताएकी छिन्। उनले उक्त चलचित्रले समाजमा नकारात्मक सन्देश प्रवाह गरेको भन्दै तत्काल प्रदर्शन रोक्न सम्बन्धित निकायसँग माग गरेकी हुन्।
काफ्लेले सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्रका केही दृश्य र प्रस्तुतिले सामाजिक सद्भाव खल्बलिन सक्ने, गलत सन्देश फैलाउन सक्ने र दर्शकमाथि नकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गरेका छन्। “मनोरञ्जनका नाममा समाजलाई गलत दिशातर्फ लैजानु उचित होइन,” उनले भनेकी छिन् ।
चलचित्र लालीबजारमा वादी समुदायलाई पुरानो यौन व्यवसायी रहेको संकेत गरेको, फिल्ममा उक्त समुदायलाई हेर्ने दृष्टिकोण गलत भएको उनले बताइन् । उनले चलचित्र विकास बोर्ड तथा सम्बन्धित नियामक निकायलाई जिम्मेवार भएर सामग्रीको पुनरावलोकन गर्न आग्रह गरेकी छिन्। साथै, आवश्यक परे चलचित्रमाथि कडाभन्दा कडा कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन्। उच्च अदालत पाटनले समेत उक्त चलचित्र तत्काल नचलाउन उत्प्रेषण आदेश दिएको छ ।

यता चलचित्र निर्माण पक्षले भने आफूहरूले सिर्जनात्मक स्वतन्त्रताको प्रयोग गर्दै समाजका यथार्थ पक्षलाई प्रस्तुत गरेको दाबी गरेको छ। उनीहरूले कुनै पनि समुदाय वा समूहलाई लक्षित गरेर चलचित्र निर्माण नगरेको स्पष्ट पारेका छन्।
यस विषयलाई लिएर सामाजिक सञ्जालमा पनि मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले चलचित्र बन्द गर्नुपर्ने मागको समर्थन गरेका छन् भने केहीले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाएका छन्।
सरकार र सम्बन्धित निकायले यस विषयमा के निर्णय लिन्छन् भन्नेमा अहिले सबैको चासो केन्द्रित भएको छ।
