नेपालगन्ज : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका उद्देश्यले “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” विषयक एक दिने विशेष कार्यक्रम बाँकेको कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजामा भव्य रूपमा सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करिब १७० भन्दा बढी बीमा सल्लाहकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि एवम् कम्पनीका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयालद्वारा पानसमा दीप प्रज्वलन तथा गमलामा पानी हालेर गरिएको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुति सहित आकर्षक नृत्य प्रदर्शन गरिएको थियो, जसले सहभागीहरूलाई थप उत्साहित बनाएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर तथा सेल्स ट्रेनर बिजय कुमार झाको प्रशिक्षण सत्र मुख्य आकर्षणका रूपमा रहेको थियो । उनले बिक्री कला, लक्ष्य निर्धारण, आत्मविश्वास विकास तथा बदलिँदो बीमा बजारमा सफलता प्राप्त गर्न अपनाउनु पर्ने रणनीतिबारे प्रभावकारी प्रशिक्षण दिएका थिए। सहभागीहरूले उक्त प्रशिक्षणलाई निकै प्रेरणादायी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा विशेष अतिथि प्रमुख बजार अधिकृत गणेश चौलागाईं, अतिथिका रुपमा कर्णाली प्रदेश प्रमुख गोविन्द ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कर्णाली प्रदेश उप-प्रमुख धिरेन्द्र शाही, राप्ती/भेरी क्षेत्रीय प्रमुख तथा कार्यक्रम सञ्चालक दिपेन्द्र रावत, नेपालगञ्ज क्लष्टर हेड कमल शाही साथै विभिन्न शाखाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।
प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ताहरूलाई निरन्तर सिकाइ, अनुशासन तथा ग्राहकप्रति जिम्मेवार दृष्टिकोण सहित अघि बढ्न आग्रह गर्दै यस्ता कार्यक्रमहरूले बजार प्रतिस्पर्धामा अग्रता दिलाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा समापन सत्रमा बोल्दै निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अभिकर्ताहरूलाई कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सशक्तिकरण नै कम्पनीको दीर्घकालीन सफलताको आधार भएको बताए ।
कार्यक्रममा शाखामा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरू लाई सम्मान गरिएको थियो। विशेषगरी कार्यक्रममा सहभागी मध्ये आफ्ना शाखा अन्तर्गत आजका दिन उत्कृष्ट व्यापार गर्न सफल ७ जना अभिकर्ताहरू लाई सफल अभिकर्ताका रूपमा सम्मान गरिएको थियो । साथै सहभागीहरू बिच अनुभव आदानप्रदानकाे अवसर पनि सिर्जना गरिएकाे थियाे ।
कम्पनीले यस्ता कार्यक्रम मार्फत अभिकर्ताहरू को क्षमता अभिवृद्धि गर्दै देशभर बीमा सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका देशभर १४८ शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् ।

