आज माता तिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन आमा भएका छोराछोरीहरुले आमालाई प्रत्यक्ष रुपमा भेटेर वा टाढा टाढा भएका छोराछोरीहरुले फोन मार्फत कुराकानी गरेर शुभकामना आदानप्रदान गरिरहेका छन् । तर म अभागी भने बिहानैदेखि आमाको सम्झनामा दु:खी हुदै अरुले आमालाई मीठो मीठो परिकार खुवाएको , राम्रा राम्रा कपडा किनेर दिएको फोटो सामाजिक सञ्जालमा हेरेर मन खिन्न पार्दै मेरी प्यारी ममतामयी आमाको सम्झनामा दिन कटाउदै छु ।
आमा जब म सानो थिए तपाईंको काखमा हुर्कदै थिए त्यतिबेला यो आमाको मुख हेर्ने दिन भन्ने थाहा नै थिएन यस्ता दिनहरू वर्षौंदेखि आए गए जब म अलिअलि जान्ने भए तपाईंलाई खुसी दिनुपर्छ भनेर कमाउन थाले तपाईंले हामीलाई नै छाडेर जानुभयो । आज तपाईं यश धर्तीमा हुनुहुन्थ्यो भने तपाईंलाई कति खुसी पार्थे होला, तपाईंलाई कति मीठा मीठा खानेकुरा किनिदिन्थे होला, बिहान बिहानै तपाईंलाई फोन गर्थे या भेट्थे होला तर म अभागी यी केबल भावनात्मक जस्तै भए आमा ! यो जुनीमा त तपाईंलाई खुसी पार्न सकिन अर्को जुनीमा म तपाईं कै कोखमा जन्मन पाउँ र तपाईंलाई खुसी पार्न पाउँ ।

आजको दिन विशेषगरी जसको जसको आमा हुनुहुदैन् उहाँहरुलाई सोध्नुपर्छ तपाईंले कसरी बिताउनुभयो आमाको मुख हेर्नेदिन भनेर उहाँको मन भारी हुन्छ अनि उहाँहरुको आँखाबाट टिलपिल टिलपिल आँसु झर्न खसेको हुन्छ । जसको आमा यश धर्तीमा जिवित हुनुहुन्छ उहाँहरुलाई राम्रोसँग ख्याल गर्नुस, माया ममता, स्नेह दिनेगर्नुस हामी अभागी आमा नहुनेहरुलाई सोध्नुस आमाको महत्त्व के हुन्छ भनेर हामी तपाईंहरुलाई बताइदिन्छौं ।
आज आमा गुमाउनु भएकाहरुले नजिकैको खोलानाला, त्रिवेणी धाम, रिडी गण्डकी, मुक्तिनाथ, स्वर्गद्वारी लगायत माता तिर्थ कुण्डमा गएर नुहाउने, उहाँहरुको नाममा सीला उठाउने, उहाँहरुको सम्झनामा आश्रममा गएर जीवित आमा बुबाहरुलाई खानेकुरा खुवाउने कामहरू गर्नुहुन्छ । आमा भएकाहरुले मीठो मीठो खानेकुरा खुवाउने, राम्रा राम्रा कपडाहरु किनेर लगाइदिने गर्ने चलन छ । यसरी बैशाख महिनामा पर्ने माता तीर्थऔंसीको आफ्नै छुट्टै महत्त्व रहेको पाइन्छ ।
अन्त्यमा मेरी ममतामयी आमा तपाईंको सम्झना आज एकदिन मात्रै होइन तीन सय पैछट्टी दिननै हजुरको याद आइरहन्छ तपाईं बिना संसार अध्यारो भएको छ, तपाईंले दिएका हरेक अर्ती उपदेश सल्लाह बमोजिम अगाडि बढीरहेको छु हजुर जहा हुनुहुन्छ खुसीका साथ बस्नुहोला हजुरलाई हार्दिक श्रद्धा सुमन आमा !
