नेपालगन्ज : सर्लाहीको चन्द्रनगर नेपालमा पहिलोपटक “सितलचिनी सम्मेलन तथा मोरिंगा खाद्य महोत्सव २०२६” आयोजना हुने भएको छ। असार ६ र ७, २०८३ मा नाधिमान ताल परिसरमा हुने यस कार्यक्रम चन्द्रनगर गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको हो। कार्यक्रमको अगुवाइ गाउँपालिका प्रमुख राज कुमार महत्त्व ले गर्नुभएको छ।
यो कार्यक्रम स्वास्थ्य, पोषण, वातावरण संरक्षण र स्थानीय आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउने उद्देश्यसहित “हरित आर्थिक क्रान्ति अभियान” का रूपमा प्रस्तुत गरिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण नाधिमान ताल क्षेत्रमा आयोजना हुने यस राष्ट्रियस्तरको कार्यक्रमले मोरिंगा (सोईजन ) लाई नेपालको दिगो विकासको प्रमुख आधारका रूपमा स्थापित गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रम अन्तर्गत मोरिंगालाई “सुपरफुड” का रूपमा प्रवर्द्धन गर्दै कुपोषण, रक्तअल्पता तथा जीवनशैलीजन्य रोग नियन्त्रणमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ। साथै किसान, महिला र युवालाई मोरिंगा खेतीमार्फत आत्मनिर्भर बनाउने, हरित उद्यमशीलता प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्य पनि समेटिएको छ।

महोत्सवका मुख्य आकर्षणहरूमा राष्ट्रिय मोरिंगा सम्मेलन, जहाँ विज्ञ कार्यपत्र प्रस्तुति, अनुसन्धान आदानप्रदान र नीति संवाद गरिनेछ; मोरिंगा खाद्य महोत्सव, जसमा विभिन्न परिकारहरूको प्रदर्शनी र स्वाद परीक्षण हुनेछ; कृषक तथा उद्यम प्रदर्शनी, जसमा मोरिंगा आधारित उत्पादनहरू जस्तै पाउडर, चिया, तेल र सौन्दर्य सामग्री प्रस्तुत गरिनेछन्; साथै मोरिंगा रोपण, प्रशोधन, ब्रान्डिङ र बजार व्यवस्थापनसम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रमहरू पनि समावेश छन्।
यसका अतिरिक्त स्थानीय संस्कृति प्रवर्द्धन, युवा सहभागिता र वातावरणीय चेतनामूलक कार्यक्रमहरू समेत आयोजना गरिनेछ। कार्यक्रम “चन्द्रनगर मोरिंगा अभियान” को एक महत्वपूर्ण हिस्सा भएको बताइएको छ, जसले कृषि, स्वास्थ्य, वातावरण र अर्थतन्त्रलाई एकीकृत गर्दै स्थानीय विकासको नयाँ मोडेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार, नाधिमान ताल आसपास मोरिंगा खेती विस्तार गर्दै हरियाली, जैविक सन्तुलन, जलवायु अनुकूल कृषि प्रणाली र दिगो आम्दानीको स्रोत विकास गर्ने दीर्घकालीन योजना रहेको छ।
विश्वले प्रकृतिमा आधारित समाधान खोजिरहेको सन्दर्भमा नेपालसँग मोरिंगा जस्तो बहुउपयोगी वनस्पति हुनु ठूलो अवसर भएको आयोजकले जनाएको छ। यस सम्मेलनले “स्थानीय बिरुवाबाट विश्वव्यापी परिवर्तन सम्भव छ” भन्ने सन्देश दिने अपेक्षा गरिएको छ।
“नेपाल मोरिंगा सम्मेलन तथा मोरिंगा खाद्य महोत्सव २०२६” लाई केवल कार्यक्रम नभई स्वस्थ समाज, हरित अर्थतन्त्र र दिगो भविष्यतर्फको अभियानका रूपमा लिइएको छ। मोरिंगामार्फत जीवन, जमिन र भविष्यलाई हराभरा बनाउने यात्रामा चन्द्रनगरले उदाहरणीय नेतृत्व प्रस्तुत गर्ने विश्वास व्यक्त सितलचिनी अभियानमा लाग्नु भएका हेमन्त राज काफले ले जानकारी दिनु भयो ।

