मध्य भोटेकोशी जलविद्युत कम्पनीले बुधबार (असोज २० गते) देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने कात्तिक ३ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ
रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको जनाउछ । केयरले २०७७ मंसिर १८ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद आगामी मंसिर १७ गते सकिनेछ ।
कति कित्ताका लागि दिने आवेदन ?
मध्ये भोटेकाशीले तुलनात्मकरुपमा अन्य हाइड्रापावरको भन्दा धेरै कित्ता सेयर बिक्रीमा ल्याएको छ । यद्दपि, पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यालाई आधार मान्ने हो भने मध्य भोटेकोशीको आइपीओ पाउन पनि लगानीकर्ताले भाग्यमै भर पर्नुपर्ने देखिन्छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ८ लाख १९ हजार जनाले मात्र सेयर हात पार्नेछन् । यद्दपि, विगत केही समयदेखि प्रत्येक आइपीओमा २४ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिन थालेका छन् । यसआधारमा मध्य भोटेकोशीको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । तथापि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
आयोजना सम्बन्धी विवरण
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०६७ साल श्रावण १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । यसको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३, महाराजगंज काठमाडौंमा रहेको छ । कम्पनीको आयोजना कार्यालय र जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्ला साविक गाति (बाह्रबिसे नगरपालिका– ५) र मार्मिङ गाविस (भोटेकोशी गाउँपालिका–५) मा रहेको छ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदीको पानी प्रयोग गरी १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य मिति २०७० माघ २८ गतेबाट सुरु भएको हो । आउँदो मंसिर १४ गते आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीले जनाएको छ ।
मध्य भोटेकोशीले विद्युत उत्पादन गर्ने अनुमति २०७० मंसिर १८ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र विसं २१०५ मंसिर १७ गतेसम्म बाहल रहने कम्पनीले जनाएको छ । आयोजनाको कुल अनुमानित लागत (ब्याजसहित) १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट अनुमानित लागत भने १६ करोड ६४ लाख ४ हजार रुपैयाँ छ ।
नेपाली पैसाबाट साभार
