नेपालगन्ज : बाँकेको नरैनापुरमा “मोरिङ्गा फर लभ” अभियान अन्तर्गत नरैनापुर मटेहिया स्थित महेन्द्र माध्यमिक विद्यालयमा एक दिने स्वास्थ्य चेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमले स्थानीय समुदायमा स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान र आपतकालीन अवस्थामा अपनाउनुपर्ने उपायबारे महत्वपूर्ण जानकारी प्रदान गरेको थियो।
कार्यक्रमका प्रमुख वक्ता तथा “Moringa for Love” का CEO डा. प्याट्रिक चौले आपतकालीन स्वास्थ्य सेवा सम्बन्धी प्रशिक्षण दिएका थिए। उनले विशेषगरी बेहोस भएका व्यक्तिलाई कसरी CPR (Cardiopulmonary Resuscitation) गर्ने, घाँटीमा खाना वा अन्य वस्तु अड्किएको अवस्थामा के गर्ने भन्ने विषयमा व्यवहारिक अभ्याससहित प्रशिक्षण प्रदान गरे। यसका लागि आवश्यक “डमी” (प्रशिक्षण उपकरण) प्रयोग गरी सहभागीहरूलाई प्रत्यक्ष अभ्यास गराइएको थियो।

त्यसैगरी, वातावरण अभियन्ता हेमन्त राज काफ्लेले सितलचिनी (मोरिङ्गा) का स्वास्थ्य लाभबारे जानकारी गराउँदै यसको नियमित सेवनले शरीरलाई दिने पोषण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा समग्र स्वास्थ्य सुधारमा पर्ने सकारात्मक प्रभावबारे प्रकाश पारे।
कार्यक्रमको व्यवस्थापन युवा समाजसेवी विनय दीक्षितले गरेका थिए। कार्यक्रममा चीनका स्वयंसेवक मुक्सीको पनि उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ अन्तर्राष्ट्रिय स्वरूप दिएको थियो।
स्थानीय बासिन्दा, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
यस प्रकारका कार्यक्रमहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य शिक्षा र सचेतना फैलाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

