पहिचानको नाममा भोट माग्ने प्रवृत्तिप्रति प्रश्नै प्रश्न, कहिलेसम्म जनतालाई ढाट्ने

मुख्य खबर लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : जव जब निर्वाचन आउछ तब मात्रै जनताको घरदैलोमा जाने, चुनाव जितेपछि वा हारेपनि जनताको अबस्था बुझ्न नजाने नेताहरुको यो प्रवृत्ति  पुरानै रोग हो । निर्वाचन नजिकिँदै जाँदा केही उम्मेदवार तथा राजनीतिक दलहरूले मधेसी, मुस्लिम वा हिन्दुराज्यको नाममा भोट माग्ने प्रवृत्ति बढेको भन्दै नागरिक समाज र विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।
विश्लेषकहरूका अनुसार लोकतन्त्रमा राजनीतिक दल तथा उम्मेदवारले विकास, सुशासन र सार्वजनिक नीतिका आधारमा मतदातासँग समर्थन माग्नुपर्ने हुन्छ । तर समुदाय वा धर्मको नाममा मत माग्दा समाजमा विभाजन र ध्रुवीकरण बढ्ने जोखिम बढ्न सक्ने बताइन्छ।

राजनीतिक टिप्पणीकारहरू यसलाई पहिचानमा आधारित राजनीति, साम्प्रदायिक राजनीति वा ध्रुवीकरणकारी चुनावी रणनीतिको रूपमा लिने गरेका छन् । स्थानीय बुद्धिजीवी तथा राजनीतिक विश्लेषकहरुका अनुसार यस्तो प्रवृत्तिले दीर्घकालमा सामाजिक सद्भाव कमजोर बनाउन महत्त्वपूर्ण  भूमिका खेल्न सक्छ।

नागरिक समाजका प्रतिनिधिहरूले मतदातालाई पनि उम्मेदवारको काम, नीति र कार्यक्रम हेरेर निर्णय लिन आग्रह गरेका छन्। उनीहरूले पहिचानको सम्मान आवश्यक भए पनि चुनावी प्रतिस्पर्धा विकास र जनहितका मुद्दामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्। उम्मेदवारको विगतलाई हेर्ने, उसको समाजमा कस्तो योगदान रहेको छ, यसभन्दा अघि जनताको कत्तिको काम गरिदिएको छ वा भविष्यमा गर्नसक्छ सोही आधारमा मत दिनुपर्ने उनीहरूको भनाइ रहेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिदै गर्दा जनतालाई गुमराहमा पार्न विभिन्न किसिमका आश्वासन दिने गरेको पाइन्छ । नेताहरुले अहिले २००७ सालदेखि यो गर्यौ, हामीले लोकतन्त्र लिन लड्यौ, मधेस आन्दोलन गर्यौ, राजतन्त्र ढाल्यौ, हामी हिन्दुराज्य कायम गराउछौं यस्तै यस्तै कुराहरुको उठान गरेर जनताको मनस्थिति परिवर्तन गर्न अनेक उपायहरू निकाल्न प्रयत्न गरेको पाइन्छ । जनताले आफ्नो विवेक प्रयोग गरि कसैको झुटा आश्वासनमा पर्न नहुने बुद्धिजीवी तथा स्थानीय मतदाताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *