नेकपा (एमाले)का कर्णाली प्रदेश समिति सदस्य कर्ण बहादुर मल्लविरुद्ध बलात्कार सम्बन्धी कसुरमा बिहीबार जाहेरी दर्ता भएको छ ।
मुगु घर भएका एमालेका कर्णाली प्रदेश सदस्य मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी हुन् । बालकुमारीको एक होटलमा आफूलाई मल्लले बलात्कार गरेको भन्ने उनको आरोप छ ।

पीडित पक्षले जाहेरी दर्ता गर्न ललितपुर प्रहरीले नमानी आनाकानी गरेको भन्दै बिहीबार काठमाडौंका संवाद डबलीमा पत्रकार सम्मेलन समेत गरेको थियो । तर आरोपीविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए । उनले भने, ‘बिदाको कारण जाहेरीबारे बुझ्न र दर्ता गर्न केही समय लागेको हो, दर्ता गरेर अनुसन्धान अघि बढाइएको उनलेे बताए ।’
पीडितले सुरुमा भ्रुणहत्या गरेको सम्बन्धी जाहेरी ल्याएको र पछि बलात्कारको जाहेरी ल्याएको एसएसपी बोगटीले बताए । मल्ल मुगुको सोरु गाउँ कमिटी इन्चार्ज पनि हुन् । पीडित महिला कालिकोटकी स्थानीय बासिन्दा हुन् । उनले आरोपीलाई तत्काल पक्राउ गर्न माग गरेकी छन् ।
