पत्रकारितामा निष्पक्षताको प्रश्न : दलगत प्रशंसाप्रति चिन्ता बढ्दो

मुख्य खबर

नेपालगन्ज : फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जादा  केही सञ्चारमाध्यम र पत्रकारहरू राजनीतिक दल तथा आफ्नो निकटतम नेताको खुलेर प्रशंसा गर्ने प्रवृत्ति देखिन थालेपछि पत्रकारिताको निष्पक्षता र विश्वसनीयतामाथि चारैतिर प्रश्न उठ्न थालेको छ।

मिडिया विश्लेषक तथा स्थानीय सरोकारवालाहरूले पत्रकारिताको मूल मर्म , सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गर्नु पर्नेमा त्यस्तो नभइ  दलगत पक्षधरता देखिनु लोकतान्त्रिक समाजका लागि चिन्ताजनक भएको धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार पत्रकारले कुनै राजनीतिक दल वा व्यक्तिको प्रशंसामा केन्द्रित भई सामग्री प्रस्तुत गर्दा आम  जनतामा भ्रम सिर्जना हुने र सञ्चारमाध्यमप्रतिको भरोसा कमजोर बन्ने खतरा बढी हुने सम्भावना रहेको छ ।

सञ्चार क्षेत्रका पत्रकारिता पेशा जनताको सूचनाको अधिकारसँग जोडिएको संवेदनशील क्षेत्र भएकाले व्यक्तिगत आस्था र पेशागत जिम्मेवारीबीच स्पष्ट दूरी कायम गर्नुपर्नेमा जोड दिएका छन्। पत्रकार आचारसंहिताले पनि तथ्यमा आधारित, सन्तुलित र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने व्यवस्था गरेको छ।
यता, केही पत्रकारहरूले भने सामाजिक सञ्जालको बढ्दो प्रभाव र व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रताका कारण यस्तो अवस्था देखिएको तर्क गर्दै पेशागत सामग्री र व्यक्तिगत विचार छुट्याएर हेर्नुपर्ने बताएका छन्। अझ केही पत्रकारले त खुलेरै राजनीतिक दलको प्रचारप्रसार गर्ने गरिएको पाइन्छ । उनीहरूले एकोहोरो एउटै पार्टीको मात्र प्रचारप्रसार गरेर समाचार लेखेको पाइएको छ ।

समाजमा केही  मिडियाले विश्वसनीयता जोगाउन आत्मनियमन, आचारसंहिताको कडाइका साथ पालना तथा तथ्यपरक रिपोर्टिङमा जोड दिनु आवश्यक छ। निष्पक्ष पत्रकारितामार्फत मात्र जनविश्वास कायम राख्न सकिने भएको हुदा कुनै पनि दलगत एकाग्रता नभइ सबैलाई समेटेर समाचार लेख्नुपर्नेमा जोड दिनुपर्छ । ठूलाठूला राजनीतिक दल निकट पत्रकारका संघ संगठनहरुले खुलेर आफ्नो पार्टीको मात्रै प्रचारप्रसार गर्ने गर्दा जनतामा पत्रकारहरुप्रतिको विश्वास दिनप्रतिदिन घट्दो रहेको पाइएको छ ।

चुनावको बेलामा कांग्रेस निकट प्रेस युनियनले कांग्रेसको सपोर्ट, एमाले निकट प्रेस चौतारीले एमालेको सपोर्ट, नेपाली कम्युनिस्ट पार्टी निकट प्रेस सेन्टर नेपालले नेकपाको सपोर्ट गर्ने , रास्वपा निकटतम पत्रकारले रास्वपाको मात्रै सपोर्ट गर्ने र आफ्नो पार्टीका नेताहरुक‍ो मात्रै गुणगान गरेर एकोहोरो समाचार लेख्ने प्रवृत्ति हावी भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *