काठमाडौँ— केही दिन देखिको प्रयासबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच चुनावी एकताको सहमति भएको छ। लोकतान्त्रिक मूल्य, सुशासन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको साझा एजेन्डामा सहकार्य गर्ने उद्देश्यसहित दुवै पक्षबीच लिखित सहमति भएको हो।
सम्झौता अनुसार, विगतका आन्दोलन र जनआकांक्षालाई आत्मसात गर्दै वैकल्पिक तथा सुधारमुखी राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ। सहमतिमा राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यलाई प्राथमिकतामा राखिएको उक्त सहमति पत्रमा उल्लेख गरिएको छ।

दुवै पक्षबीच भएको सहमतिमा पहिलो पक्ष र दोस्रो पक्षबीच एकता पश्चात् गठन हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने, दलको झण्डा र चुनाव चिह्न घण्टी नै कायम रहने उल्लेख गरिएको छ। साथै, पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति पनि भएको छ।
सम्झौता अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार रुपमा बालेन्द्र शाहलाई अगाडि सार्ने उल्लेख गरिएको छ।
एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सबल र फराकिलो बनाउँदै युवा अभियन्ता तथा अनुभवी विज्ञहरूको समुचित समायोजन गरिने सहमतिमा उल्लेख छ। जिम्मेवारी तोक्दा योगदान, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने जनाइएको छ।
यस सम्झौतासँगै राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी आवश्यक कागजात निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता गरिने पनि सहमतिमा पत्रमा उल्लेख गरिएको छ।
सम्झौताको अन्त्यमा पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न घण्टीमार्फत लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायको मुद्दा अघि बढाउन अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गरिएको छ।

