नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब भत्ता नखुवाएको भन्दै आन्दोलित भएको आज चौथो दिन भएको छ ।
कोभिड महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरेका कर्मचारीहरुलाई तीन महिना देखि तलव भत्ता नखुवाएको, कोभिड भत्ता सरकारले उपलब्ध गराएको पनि सम्बन्धि कर्मचारीलाई उपलब्ध नगराएको, सामाजिक सुरक्षा कोषमा कर्मचारीहरुको रकम २०७७ साउन देखि जम्मा हुन लागेको तर सो भन्दा अगाडि देखि काटेर राखेको पैसा कर्मचारीहरुलाई फिर्ता नदिएको, फरक तलव भत्ता नदिएको लगायतका मागहरू राख्दै कर्मचारीहरुले धर्ना कार्यक्रम राखेका छन् ।

उक्त संस्थामा रहेका ट्रेड युनियनहरु र संस्थाले प्रत्येक महिना बितेको ५ दिन भित्रमा तलव खुवाउने भन्ने लिखित सहमति गरिएकोमा संस्थाले त्यसलाई लागू नगरेको आन्दोलित कर्मचारीहरुको भनाइ रहेको छ ।
साउन १ गतेदेखि भोकभोकै कामगर्न नसकिने भन्दै स्वस्फूर्त रुपमा कर्माचारीहरु आन्दोलित भइ लेखाशाखा, प्रशासन शाखा र प्रवन्धक सञ्चालकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीको मागहरु जायज भएको भन्दै नेपाल चिकित्सक संघको पनि ऐक्यबद्धता रहेको संघका अध्यक्ष डा- बिनोद कर्णले बताउनुभयो । कर्मचारीहरुका मागहरु तत्काल पूरा गर्नुपर्नेमा विभिन्न राजनीति दल, ट्रेड युनियन, पत्रकार महासंघ, नागरिक कर्मीहरुबाट आवाज उठिरहेको छ ।


