संगीतका साधक: ओमप्रकाश सत्याल शर्मा  एक परिचय

विचार/व्लग

ओमप्रकाश सत्याल शर्मा जन्म मिति विक्रम संवत २०००/१२/३० महाराजगन्ज काठमाडौंमा भएको थियो। उनका बुवा स्वर्गीय आत्मा राम शर्मा, आमा स्वर्गीय लक्ष्मी देवी शर्मा, र बाजे शिवानन्द शर्मा थिए। संगीत र संस्कारको वातावरणमा हुर्किएका उनले सानो उमेरदेखि नै ताल र स्वरमा लगाव बढाएका थिए । बाल्यकालमै तबलाको तालसँग जीवनको पहिलो परिचय भयो र जम्मा आठ वर्षको उमेरदेखि नै तबला बजाउन थाले। साथीहरू खेलमैदानमा रमाउँदा उनी ताल सुर र लयमा रमाइरहेका थिए। घरको वातावरण बुबा र बाजेको संस्कार आमा र परिवारको माया स्नेहले उनको जीवनको मूल आधार तयार पार्‍यो। त्यस बेला नै उनले बुझिसकेका थिए संगीत केवल कला होइन आफुलाई चिनाउने एक अवसर पनि हो।

उच्च शिक्षा हासिल गर्न उनले भारतको बनारस रोजे। बनारस हिन्दू विश्वविद्यालयमा संगीतमा डिग्री लिनु मात्र नभई त्यहाँको विश्वविद्यालयमा अध्यापन गर्ने अवसर पाए। गुरुहरूको मार्गदर्शन र अभ्यासले उनलाई शास्त्रीय संगीतमा गहिरो समझदारी दिलायो। बिहान बेलुकी अभ्यासमा बित्ने दिनहरू स्वर ताल र लयसँगको अन्तरक्रियाले उनको जीवनलाई नयाँ आयाम दियो। तर उनको स्वभाव फरक थियो एकै ठाउँमा टिक्न नसक्ने खोजी र अनुभवप्रतिको निरन्तर चाहना उनको पहिचान बन्यो। भारतका विभिन्न शहरमा घुम्दै  विद्यालयमा संगीत पढाउँदै र स्थानीय अवसरहरूको अनुभव सँगाल्दै उनले संगीतलाई जीवनको पूर्ण अभिव्यक्ति बनाउँदै गए।

जीवनले उनलाई चुनौती र अवसर दुवै दिएको थियो। साथीहरूको प्रेरणाले मुम्बई पुग्दा उनी हिरो बन्ने सपना देखे। तर मुम्बईको कठोर यथार्थले उनलाई ठूलो पाठ सिकायो संगीत केवल साधना हो यसलाई क्षणिक चमक र पैसासँग मापन गर्न सकिँदैन। संघर्ष निराशा र कठिनाई आए पनि उनले संगीतलाई कहिल्यै छोडेनन्। त्यसपछि दिल्ली गए, जहाँ साथीहरूको संगतमा एक विद्यालयमा संगीत सिकाउन थाले। भारतका शहर शहरमा यात्रा गर्दै उनले संगीतको ज्ञान र अनुभव संकलन गरे। अवसर आए पनि स्थायित्व कहिल्यै टिकेन। संघर्षले थकाइ ल्यायो, तर धुनले उनलाई फेरि उठायो।

उनको मन मातृभूमितिर फर्कियो। नेपाल फर्केपछि तत्कालीन अञ्चलाधिसले उनको प्रतिभालाई उच्च सम्मान दिए। सरकारी कार्यक्रममा, राजकीय भ्रमणताका, र विभिन्न सांगीतिक कार्यक्रमहरूमा उनी गीत गाउने सौभाग्य पाउँथे। पञ्चाय तिर बिरेन्द्र राजा स्वयंले उनलाई मन पराउनुभयो र एकपटक नगद ११ हजार रुपैयाँसहित सम्मान प्रदान गर्नुभयो।  त्यो रकम केवल आर्थिक मूल्यको रूपमा नभई संगीतको साधनालाई मान्यता दिने प्रतीक बन्यो। मुम्बईका गल्लीमा भोगेको पीडा, दिल्लीका साँघुरो कोठामा बिताएको संघर्ष, बनारसका लामो अभ्यासका रातहरू सबै यही क्षणका लागि थिए। नेपालगन्जलाई कर्मभूमि बनाएर उनले आफ्नो प्रतिभा समाज र देशका लागि योगदान गरेका छ्न ।

आज उनी ८२ वर्षका छन्। अझै स्वास्थ्य राम्रो छ र ऊर्जा अविचलित छ। उनी भन्छन् सबै संगीतकै कारण हो। राती निद्रा लाग्दा पनि गीत मनमा आउँछ भने तुरुन्तै उठेर लेख्छन्, धुन हाल्छन्। गीत उनको नसा नसामा बगेको छ। त्रिभुवन चोक वडा नं. ११, नेपालगन्जमा बस्दै उनी दिन बिताउँछन् साधना अभ्यास र सिर्जनामा। उनका लागि संगीत केवल सोक  होइन जीवनको प्राण हो। संघर्ष अवसर साधना र सम्मानका यी दशकहरूले ओमप्रकाश सत्याल शर्मालाई केवल गायक वा संगीतकार मात्रै होइन, सच्चा संगीत साधक र जीवनका प्रेरणास्रोतका रूपमा स्थापित गरेका छन्। उनका अनुभवहरूले हामीलाई धेरै सिकाउँछ । हामी ले उनी बाट सिक्ने निरन्तरता कुनै पनि चिजमा  समर्पण गहिरो  साधना र जिबन संघर्ष गर्यो भने एक दिन सफल भईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *