नेपालगञ्ज -आपसी सद्भाव, धार्मिक सहिष्णुता र भाईचारा झल्किने उदाहरणस्वरूप नेपालगञ्जमा मुस्लिम समुदायका युवाले हिन्दु धर्मावलम्बीको हातबाट विजयादशमीको टीका ग्रहण गरेका छन् ।
विजयादशमी अर्थात् दशैं हिन्दुहरूको महान् चाड भएपनि नेपालगञ्जमा देखिएको यो घटना धार्मिक सद्भावको अनौठो तर प्रेरणादायी उदाहरण बनेको छ ।

टीका लगाउने क्रममा नेपालगन्जका पत्रकार अनिश शाहले अधिवक्ता विष्णु पोखरेल र देउमाया खत्रीको हातबाट टीका ग्रहण गरेका हुन् । यो पर्व दुबै समुदायका व्यक्तिहरूबीच खुसीयाली साटासाट मात्र नभई आपसी आत्मीयता र भाईचारा अझ प्रगाढ भएको सहभागीहरूले बताएका छन् ।
सामाजिक तथा धार्मिक विविधता रहेको नेपालमा यस्ता गतिविधिले समाजमा एकता, शान्ति र सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । स्मरण रहोस् नेपालगन्ज सहरलाई धार्मिक सद्भावको सहर भनेर पनि चिनिन्छ ।