नेपालगन्ज- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य कृष्ण प्रसाद उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्षलाई सम्बोधन गरेर पेश गरिएको राजीनामा पत्रमा उनले भदौ २३ र २४ गते जेनजीको आन्दोलनमा पार्टीको भूमिकामा चित्त नबुझेको, जिल्ला पार्टीको गतिविधिबाट पार्टीको छवि धुमिल भएको, व्यक्तिगत व्यस्तता र अन्य कारणले गर्दा पदमा निरन्तरता दिन नसकेको उल्लेख गरेका छन्।
उपाध्यायले पार्टीको नीति, सिद्धान्त र कार्यकमअनुसार दायित्व निर्वाह गर्ने क्रममा प्राप्त अनुभवलाई उच्च मूल्यांकन गर्दै भविष्यमा पनि लोकतन्त्र र समाजसेवामा सकरात्मक योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले पार्टी नेतृत्व, पदाधिकारी र सहकर्मीहरूबाट पाएको सहयोगप्रति आभार प्रकट गरेका छन्।

उपाध्यायले राजीनामा पत्रमा पार्टी अध्यक्षको अनुमोदनका लागि यो पत्र पेश गरिएको उल्लेख गरेका छन्। स्मरण रहोस् उक्त पार्टीका अध्यक्ष दावी गरेका रेशम चौधरीले पनि पार्टी छाडेका छन् ।
