डा. घनश्याम गुरुङ्गको जीवन कथा संघर्स र निकै प्रेरणादायी छ। उहाँको जन्म सन १७ जुन, १९६५ मा नेपालको मुस्ताङ जिल्लाको माथिल्लो भागमा भएको हो। जुन क्षेत्र अत्यन्त दुर्गम ठाउँ चुनौतीपूर्ण भूगोलको कारणले चर्चित छ। बाल्यकालमा उहाँले आफ्ना परिवारसँगै भेडा चराउँदै , गाई र च्याङ्ग्रा चराएर जीवन बिताउनुभयो। यही कठिन हिमाली जीवनले उहाँलाई प्रकृति जीवजन्तु र वातावरणसँग गहिरो सम्बन्ध बनायो। बाल्यकालमा विद्यालय पुग्न सजिलो थिएन कतिपय समयमा विद्यालयसम्म पुग्न दिनौँ पैदल हिँड्नुपर्ने परिस्थितिले उहाँलाई धैर्य मेहनत र संघर्षको पाठ सिकायो। प्रारम्भिक शिक्षा सकेपछि उहाँ उच्च अध्ययनका लागि न्युजिल्याण्डको लिन्कन युनिभर्सिटी पुग्नुभयो जहाँ उहाँले वातावरण र संरक्षणसँग सम्बन्धित विषयमा गहिरो अध्ययन गर्नुभयो। पछि स्विट्जरल्याण्डको प्रतिष्ठित युनिभर्सिटी अफ जुरिच Natural Science मा PhD उपाधी हासिल गर्नुभयो। यस शैक्षिक यात्राले उहाँलाई विश्वस्तरीय वैज्ञानिक र संरक्षणविद् बन्ने आधार मात्र दिएन, संरक्षण क्षेत्रलाई नयाँ दृष्टिकोणसहित हेर्ने दृष्टि पनि प्रदान गर्यो।

उहाँ बिश्व बन्यजन्तु कोष नेपालसँग तीन दसक देखि जोडिनु भएको छ। लामो समयदेखि बिश्व बन्यजन्तु कोष नेपालको Country Representative को रूपमा जिम्मेवारीमा हुनुहुन्छ। यसअघि उहाँ विश्व बन्यजन्तु कोष नेपालमा वरिष्ठ संरक्षण कार्यक्रम निर्देशकको रूपमा नेतृत्व गर्नु भएको थियो। नेपालमा उहाँलाई हिम चितुवाको गोठालो भनेर विशेष उपाधि दिइएको छ जुन उपाधिले उहाँको हिम चितुवा संरक्षणप्रतिको प्रतिबद्धता र योगदानलाई विश्वभरि चिनाएको छ। उहाँको नेतृत्वमा विश्व बन्यजन्तु कोष नेपालले समुदायलाई केन्द्रमा राखेर संरक्षणका कार्यक्रमहरु अघि बढाएको छ जसले केवल जीवजन्तु मात्र नभई ग्रामीण समुदायको जीवनस्तर सुधार्न पनि मद्दत पुर्याएको छ। उहाँको सोच र नेतृत्वले विश्व बन्यजन्तु कोष नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा उदाहरणीय संस्थाको रूपमा प्रस्तुत गरेको छ।


हिम चितुवा संरक्षणमा उहाँको योगदान विशेष उल्लेखनीय छ। हिम चितुवा नेपालका हिमाली क्षेत्रमा पाइने दुर्लभ र संकटग्रस्त प्रजाति हो, जसलाई बचाउन कठिन छ किनभने मानव–हिम चितुवा द्वन्द्व निरन्तर भइरहेको छ। हिम चितुवाले चरनमा हमला गर्दा चरवाहाले आफ्नो सम्पत्ति गुमाउँछन् र बदला स्वरूप उनीहरू चितुवा मार्ने वा विस्थापित गर्ने प्रवृत्ति देखिन्छ। यस समस्यालाई समाधान गर्न डा. गुरुङ्गले समुदाय आधारित संरक्षणको अवधारणा ल्याउनुभयो। चरनमा क्षति भएमा बीमा प्रणालीमार्फत चरवाहालाई क्षतिपूर्ति दिने व्यवस्था उहाँकै पहलमा सुरु भएको हो। यसले जनावर पाल्नेहरुलाई राहत मात्र दिएन, उनीहरूलाई हिम चितुवाको अस्तित्व स्वीकार गर्न प्रेरित पनि गर्यो। साथै उहाँको नेतृत्वमा से फोक्सुन्डो रास्ट्रय निकुञ्ज लगायतका हिमाली क्षेत्रमा विस्तृत अध्ययन, अनुसन्धान र गणना अभियान सञ्चालन गरियो जसले हिम चितुवाको वास्तविक स्थिति, संख्यात्मक तथ्य र आवास सम्बन्धी जानकारी उपलब्ध गरायो। उहाँको पहलमा गरिएको अनुसन्धानले नेपालमा करिब ३५० भन्दा बढी हिम चितुवा रहेको अनुमान वैज्ञानिक प्रमाणसहित स्थापित गरिदिएको छ।

तर संरक्षणको बाटो सजिलो थिएन। मानव बसोबास विस्तार, अव्यवस्थित पूर्वाधार विकास, जनसंख्या वृद्धि, जलवायु परिवर्तन र वन्यजन्तु मानव द्वन्द्व जस्ता चुनौतीहरुसँग निरन्तर जुध्नुपर्यो। हिमाली क्षेत्रका ग्रामीण समुदायमा गरिबी, शिक्षा र चेतनाको कमीका कारण संरक्षणलाई प्राथमिकता दिन सजिलो थिएन। डा. गुरुङ्गले विज्ञान र समुदायबीचको पुल बनाएर संरक्षणलाई दीर्घकालीन रुपमा अगाडि बढाउनुभयो। उहाँको दर्शन स्पष्ट छ“संरक्षण केवल सरकार वा संस्थाले गर्ने कुरा होइन यसमा समुदायको सक्रिय सहभागिता आवश्यक छ। उहाँ विनम्र सहज र प्रेरणादायी व्यक्तित्वका कारण युवापुस्तालाई संरक्षण र वातावरणप्रतिको चेतनामा आकर्षित गर्न सफल हुनुभएको छ। यही कारण उहाँलाई “हिउँ चितुवाको गोठालो” भनेर चिनिन्छ जुन उपनाम केवल एउटा उपमा नभई उहाँले हिमाली समुदाय र हिम चितुवाबीचको सम्बन्धलाई मजबुत बनाउन गरेको यात्राको प्रतीक हो।
उहाँको नेतृत्वमा विश्व वन्यजन्तु कोष नेपालले विगत चार दशकभन्दा बढी समयदेखि नेपालको जैविक विविधता वन्यजन्तु संरक्षण र स्थानीय समुदायको जीवनस्तर उकास्न उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। नेपालको पहाड, तराई र हिमाली क्षेत्रलाई आच्छादित गर्ने विशाल प्राकृतिक सम्पदा र दुर्लभ वन्यजन्तुहरूको संरक्षणमा यस संस्थाले अग्रणी भूमिका खेल्दै आएको छ। विशेषगरी, बाघ, गैंडा, सालक,हात्ती, डाँफ, रातो पाण्डा र हिउँ चितुवाजस्ता संकटग्रस्त प्रजातिको संरक्षणका लागि गरेको दीर्घकालीन प्रयासले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ। यस्तै, जलवायु परिवर्तनका चुनौतीहरूसँग जुध्न हरित ऊर्जा, सामुदायिक वन कार्यक्रम र जलस्रोत व्यवस्थापनलाई प्राथमिकतामा राख्दै स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउन सफल भएको छ। नेपालमा राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रको विस्तार, चोरी शिकारी नियन्त्रण, वन्यजन्तु अपराधविरुद्ध कानुनी सुधार, र सीमापार सहकार्यलाई मजबुत बनाउन बन्यजन्तु कोष नेपाल निरन्तर सक्रिय छ। यस संस्थाले संरक्षण मात्र होइन, शिक्षा, अनुसन्धान, स्वास्थ्य र आर्थिक सशक्तिकरणलाई पनि संरक्षण अभियानसँग जोडेर समाजमा दिगो विकासको आधार तयार गराउन डा.गुरुङ सफल हुनु भएको छ। यही कारण, विश्व वन्यजन्तु कोष नेपाल आज वन्यजन्तु र प्रकृति संरक्षण मात्र नभई समुदाय, संस्कृति र भविष्यको सुरक्षा गर्ने एक सशक्त संस्था बन्न पुगेको छ, जसले नेपाललाई हरित, सुरक्षित र गौरवमयी बनाउने यात्रामा ऐतिहासिक योगदान दिइरहेको छ।
संरक्षण क्षेत्रमा गरेको योगदानका लागि उहाँलाई अनेकौँ सम्मान र पुरस्कारले गौरवान्वित गरिएको छ। नेपाल सरकारले उहाँलाई Prabal Janasewa Shree बाट सम्मानित गरेको छ भने Lincoln University ले उहाँलाई Alumni International Medal प्रदान गरेको छ। बिश्व बन्यजन्तु कोषको विश्वव्यापी सञ्जालले उहाँलाई “Snow Leopard Champion” को उपाधि दिएको छ। अन्तर्राष्ट्रिय पत्रपत्रिका र प्रकाशनहरुले उहाँलाई विश्वका १२ महान संरक्षण नायकमध्ये एकका रूपमा सूचीकृत गरेका छन्। यी सबै पुरस्कार र सम्मान उहाँको व्यक्तिगत सफलतामात्र होइन, नेपालले संरक्षण क्षेत्रमा हासिल गरेको विश्वव्यापी प्रतिष्ठाको एक चिनारी हुनुहुन्छ उहाँ ले संरक्षणमा लागेकाहरुलाई हौसला दिने प्रेरणा दिने सहयोग गर्ने गर्नु हुन्छ । उहाँको कामले नेपाललाई जैवक विविधता संरक्षणमा विश्वका लागि अनुकरणीय देश बनाएको छ। भविष्यमा पनि उहाँको नेतृत्व र दृष्टिकोणले हिमाली पारिस्थितिकी, संकटग्रस्त प्रजातिहरु र ग्रामीण समुदायलाई संरक्षणसँगै विकासको बाटोमा अघि बढाउने विश्वास गरिएको छ।
उहाँको योगदान नेपाल आमाको लागि निकै ठूलो छ र उहाँ युवाहरुका प्रेरणाका श्रोत हुनुहुन्छ ।
लेखक: हेमन्तराज काफ्ले हरित अभियन्ता हुनुहुन्छ ।