ट्रेड युनियनका नेताहरुप्रति श्रमिकको विश्वास घट्दो

लुम्बिनी प्रदेश बिशेष विचार/व्लग

नेपालगन्ज – नेपालमा  पछिल्लो समय ट्रेड युनियन आन्दोलन विभिन्न समस्याले ग्रस्त बनेको छ। मजदुरको हकहितका लागि स्थापित ट्रेड युनियनहरूमा एकातिर नेतृत्वप्रति श्रमिकको विश्वास घट्दै गइरहेको छ भने अर्कोतिर युनियनका नेताहरुबिच अन्तरकलह, नेतृत्व विवाद र राजनीतिक हस्तक्षेप बढ्दै गएपछि उद्योग, कलकारखाना, संघसंस्थामा हुने आन्दोलनको प्रभावकारिता कमजोर बन्दै गइरहेको छ।

श्रमजीवी श्रमिकको वास्तविक समस्याहरुको  समाधान गर्नुभन्दा संगठनभित्र पदलालसा, राजनीति आस्था  र गुटबन्दी हावी हुँदा आन्दोलनका एजेण्डा हराउँदै गएको  छ। कतिपय ट्रेड युनियनहरूमा आर्थिक पारदर्शिता नहुँदा सदस्य सदस्यबीच अविश्वास फैलिएको छ भने श्रमिक र व्यवस्थापन पक्षबीचको वार्ता प्रक्रिया पनि कमजोर हुँदै गएको छ।

उद्योगमा श्रमिकको अधिकार हनन, महंगीलाई मध्यनजर गर्दै बाच्न पुग्नेगरी न्यून तलब, सुरक्षाको कमी, स्थायी रोजगारीको अभाव जस्ता विषयमा सशक्त आन्दोलन हुनुपर्नेमा संगठनभित्रैको विवादका कारण त्यसतर्फ ध्यान दिन नसकिएको आलोचना श्रमिकले उठाउदै  आएका छन्।

एउटै संस्थामा दुई वा दुई भन्दा बढी युनियन खोलियो भने पनि श्रमिकका मुद्दा ओझेलमा पर्ने गर्दछन् । धेरै युनियनहरु मध्य एउटामात्र युनियन व्यवस्थापनपक्षको नजिक भयो भने श्रमिकका मुद्दा पूरा गराउन कठिनाइ हुने गर्दछ । श्रमिक हितका मुद्दामा साझा दृष्टिकोण बनाउन सकिने हो भने मात्र  आन्दोलन प्रभावकारी बन्ने विज्ञहरूको सुझाव रहेको  छ तर त्यसका लागि नेतृत्व तहमा पारदर्शिता, गुटबन्दीको अन्त्य र श्रमिकको पक्षमा  सम्बन्ध सुदृढ बनाउने कदम तत्काल आवश्यक रहेको श्रमिक अधिकारकर्मीहरूको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *